सम्भावित जोखिम नियन्त्रणका लागि धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको घर र माइती दुवै गाउँ सिल

काठमाडौं, जेठ ३ : काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी कोरोना संक्रमित महिलाको गाउँ र माइती गाउँ दुवै सिल गरिएको छ। 

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ नम्बर वडालाई  सिल गरिएको हो।  

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार अब सिल गरिएका ठाउँमा कसैलाई बाहिर जान र बाहिरबाट ती वडामा आउन रोक लगाइएको छ। धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि थप परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गरिएको छ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ती महिलामा कोरोनाको संक्रमण रहेको पुष्टि गरेको छैन। मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले महिलाको मृत्युको कारण’bout  थप अध्ययन भइरहेको र विवतरण प्राप्त हुना साथ औपचारिकरुपमा जानकारी दिने बताएका थिए। उनले कोरोना परीक्षणको रिपोर्ट पनि अध्ययन भइरहेको शनिबार आयोजित पत्रकार ब्रिफिङमा बताएका छन्। 

सुत्केरी महिलाको मृत्यु भएपछि  कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि भन्दै उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए।

यस्तै, उनका अनुसार  धुलिखेल अस्पताल आउनअघि  महिलाले स्वास्थ्य जाँच गराएको बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ।

सिन्धुपाल्चोककी २९ वर्षीया महिला  वैशाख २३ गते टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना भएको र २४ गते नर्मल डेलिभरी भएको थियो। २५ गते डिस्चार्ज भएर घर फर्किएकी उनलाई ज्वरो, श्वासप्रश्वास समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएर शुक्रबार धुलिखेल अस्पताल भर्ना भएकी थिइन्।