कोरोनाबाट मृत्यु भएकी सुत्केरीको शिशुमा देखिएन कोरोना

काभ्रे, जेठ ५ : कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशुको रिपोर्ट नेगेटिभ आएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे–९ की २९ वर्षीया सुत्केरीको कोरोना संक्रमणबाट धुलीखेल अस्पतालमा मृत्यु भएको थियो। उनको मृृत्यु भएपछि शिशुसहित उनका श्रीमान, आमा र बहिनीको पनि नमुना संकलन गरिएको थियो।
उनीहरुको सोमबार बिहान रिपोर्ट आएको हो। शिशुसहित परिवारका चारै जनामा कोरोना नदेखिएको अस्पतालले जनाएको छ।
रिपोर्ट आउन ढिलाइ हुँदा उनीहरु ४८ घन्टादेखि धुलीखेल अस्पतालमै आइसोलेसनमा बस्दै आएका थिए।
अब उनीहरुलाई घर पठाइने भएको छ। १४ दिन क्वारेन्टाइनमा बस्ने गरि घर पठाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले बताए।
काठमाडौंमा बस्दै आएकी उनी सुत्केरी व्यथा लागेपछि वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन्। वैशाख २४ गते प्राकृतिक रुपमै शिशुलाई जन्म दिएकी थिइन्।
त्यसपछि अस्पतालले डिस्चार्ज गरेपछि वैशाख २५ गते सिन्धुपाल्चोकस्थित घर फर्केकी थिइन्। तर, जेठ १ गते एकाएक स्वास्थ्य समस्या देखिएको थियो। स्वास फेर्न गाह्रो भएपछि स्थानीय अस्पतालमा भर्ना भएकी थिइन्। स्थानीय अस्पतालले धुलीखेल रिफर गरेको थियो।
राति साढे ९ बजे धुलीखेल अस्पताल पुगेकी उनको आइसियूमा राखेर उपचार थालिएको थियो। तर, राति १० बजे अस्पतालले मृत घोषणा गरेको थियो।
उनको मृत्यु भएपछि कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा कोरोना संक्रमण भएको देखिएको थियो। स्वास्थ्य मन्त्रालयको विज्ञ टोलीले अध्ययन गर्दा कोरोनाकै कारण मृत्यु भएको पाइएको थियो।