अन्नपछि सिस्नोखेतीतिर
दाङको घोराही उपमहानगरपालिका – १ तेर्छे गाउँमा बँदेल र बाँदरले अन्नबाली खाएपछि स्थानीयवासीले सयौँ हेक्टर जमीनमा खेती गर्न छाडे । मकै, कोदो, फापर, तोरी, जौ, गहुँलगायत बाली वन्यजन्तुले स्याहार्नै नदिएपछि स्थानीयवासीले वर्षाँैदेखि जग्गा बाँझै छाडेका थिए । यस वर्षदेखि भने उनीहरुले वैकल्पिक खेतीका रुपमा अदुवा, पिँडालु र बेसार खेती शुरु गरेका छन् ।
स्थानीयवासी टेकन भण्डारीले गाउँलेले खेती गर्न छाडेका करीब पाँच बिघा जग्गामा यस वर्ष बेसार, पिँडालु र अदुवा खेती शुरु गरेको जानकारी दिनुभयो । “यस वर्ष पाँच बिघामा खेती गरेका छौँ”, भण्डारीले भन्नुभयो, “आगामी वर्षमा हामी गाउँमा कुनै पनि जमीन बाँझो राख्दैनौँ, सबै जग्गाामा खेती गर्छौँ ।” यस वर्ष भण्डारीले उक्त स्थानमा छ क्विन्टल बेसार रोपिसक्नुभयो । तेर्छे गाउँमा व्यावसायिक अदुवा, बेसार र पिँडालु खेती गर्ने योजनामा रहेको भण्डारीले बताउनुभयो ।
विश्वभर कोरोना महामारीको त्रास शुरु भएलगत्तै उहाँ भारतबाट घर फर्कनुभएको थियो । मेहनत गरियो भने भारतमा कमाएजति यहीँ कमाउन सकिने उहाँको विश्वास छ । उहाँ जस्तै स्थानीयवासी वसन्त भण्डारी पनि वन्यजन्तुले नोक्सान गर्न नसक्ने सिस्नो खेती गरी धुलो उत्पादन गर्ने योजनामा हुनुहुन्छ । बजार क्षेत्रबाट सिस्नोको माग धेरै भएको हँुदा धुलो बनाउन शुुरु गरिएको उहाँले बताउनुभयो ।
तेर्छे गाउँमा उत्पादित जैविक अदुवा, बेसार, पिँडालु र सिस्नोको धुलोको बजारीकरण दाङको घोराहीस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गर्ने भएको छ । सर्वोत्तम सहकारी संस्थाले सञ्चालन गर्न लागेको सहकारी सहुलियत बजारमार्फत उपभोक्तालाई दिने ती वस्तु योजनामा रहेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले बताउनुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ को ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लागतमा सञ्चालन गर्न लागिएको उत्पादन लगेर बेचबिखन गर्ने योजनामा संस्थाले काम गरेको अध्यक्ष पौडेलको भनाइ छ ।
यस्तै प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत बंगलाचुुलीका विभिन्न गाउँमा अदुवा, बेसार र पिँडालु खेती शुरु गरिएको छ । ग्रामीण विकास कार्यक्रमका सहजकर्ता टीका बस्नेतका अनुसार अहिले बंगलाचुली –२ मर्पेसमा २८ क्विन्टल पिँडालु वितरण गरिसकिएको छ भने १६ क्विन्टल अदुवा किसानले रोपिसकेका छन् ।
बीउसँगै मर्पेसका २० घरपरिवारलाई प्राङ्गारिक मल र आवश्यक औषधि पनि दिइने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रले पनि घोराही उपमहानगरपालिका –१९को पहाडी भेगलाई गत वर्षदेखि अदुवाको पकेट क्षेत्र मानेको छ । यस्तै वडा नम्बर १२ को सिस्नेरीमा बेसार पकेट क्षेत्र र दंगिशरण गाउँपालिकाको फूलबारीमा ब्लक सञ्चालन गरिएको छ । केन्द्रले पकेट सञ्चालन गरेका क्षेत्रमा रु १४ लाख र ब्लग सञ्चालन भएका क्षेत्रमा रु ४० लाखका दरले अनुदान दिइएको ज्ञान केन्द्रका प्रचारप्रसार अधिकृत भरत पोखरेलले जानकारी दिनुुभयो । – रासस