सतर्कताका साथ क्वारेन्टिन वृद्धि
रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण रोक्न उच्च सतर्कता अपनाउँदै क्वारेन्टिन बढाइने भएको छ । नगरस्तरीय राहत व्यवस्थापन समितिका संयोजक तथा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीका अध्यक्षतामा बसेको बैठकले थप तीन स्थानमा गुणस्तरीय क्वारेन्टिन निर्माणमा जोड दिँदै नगरपालिकासँग जोडिएका विभिन्न सीमा क्षेत्रमा सतर्कता अपनाउने निर्णय गरेको छ ।
सो नगरपालिकासँग शुद्धोधन, गैडहवा, कञ्चन र बुटवल उपमहानगरपालिका जोडिएको छ । नगरपालिकासँग जोडिएका गाउँपालिकामध्ये गैडहवामा कोरोनाको सङक्रमण देखिएको छ ।
‘विगतमा भएका निर्णयलाई यथावत् राख्दै बन्दाबन्दीलाई प्रभावकारी बनाउने निर्णय भएको छ’, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भन्नुभयो । निर्माण हुने क्वारेन्टिनमा केही स्वास्थ्यकर्मीसमेत परिचालन हुने छन् ।
बैठकले नगरपालिका १ स्थित पदमपाणि योगमा रहेको क्वारेन्टिनलाई आइसोलेशन सेण्टरका रुपमा विकास गर्न जोड दिएको छ । नगरपालिकाका कुल छ हजार १६७ रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेका र तीमध्ये दुई हजार ४२६ स्वदेश फर्कन चाहेको बताइएको छ ।
गैडहवा खुला
कोरोना सङक्रमित देखिएको रुपन्देहीको गैडहवा गाउँपालिकाको बन्द खुला भएको छ । सो गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएपछि सङ्क्रमणको जोखिम हुने भन्दै आवतजावतमा रोक लगाइएको थियो । स्थानीय कृषकलाई आवतजावतमा अप्ठ्यारो भएकाले अब बन्द खुला गरिएको गैडहवाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो । सो गाउँपालिकामा मधेसी समुदायको बाहुल्य छ ।
धान उत्पादन र तकारी उत्पादनको पकेट क्षेत्र मानिने सो गाउँपालिकामा किसानको दवावका कारण बन्द खुलेको बताइएको छ । उक्त गाउँपालिकासँग जोडिएको कञ्चन गाउँपालिकामा भने आवतजावतमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले जानकारी दिनुभयो ।
क्वारेन्टिनमा रहेका स्थानान्तरण
कोहलपुर– बाँकेको नरैनापुरलगायत विभिन्न स्थानमा कोरोना सङ्क्रमित बढ्दै गएपछि कोहलपुर नगरपालिकाले क्वारेन्टिनमा रहेकालाई स्थानान्तरण गर्न लागेको छ । कोहलपुर ८ पिपरीमा रहेकोे कृषि विकास बंैकको तालीम केन्द्रको क्वारेन्टिनमा राखिएका २५ जना लाई कोहलपुर न ११ मा रहेको वागेश्वरी बहुमुखी क्याम्पसमा सार्ने तयारी भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिनुभयो ।
कोहलपुरमा क्वारेन्टिनको व्यवस्था गर्नका लागि नगरप्रमुख लुटबहादुर रावतसहितको टोलीले विभिन्न ठाउँमा अवलोकनपछि वागेश्वरी बहुमुखी क्याम्पसलाई उपयुक्त स्थान छनोट गरिएको प्रमुख भारतीले बताउनुभयो ।- रासस