दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कालीमाटी वृत्त सिल
काठमाडौं, जेठ ७ : काठमाडौंमा दुई जना प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। संक्रमण देखिएपछि कालीमाटी वृतसहित ६ एकाई सिल गरिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुमध्ये एक जना सई र एक जना प्रहरी जवानमा कोरोना देखिएको हो।
महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीका अनुसार, आरडीटीमा पोजिटिभ देखिएपछि पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको थियो। त्यसमा पनि पोजिटिभ देखिएपछि सतर्कता अपनाइएको छ।
दुई जनामा कोरोना देखिएपछि कालीमाटी वृत्त सिल गरिएको छ। यहाँ दुई सय १४ जना प्रहरी बस्दै आएका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिन भइरहेको उनले बताए।
उनीहरुको सम्पर्क अन्य एकाईका प्रहरीसँग पनि भएको देखिएपछि थप पाँच एकाई सिल गरिएको छ। कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरका अनुसार, कालीमाटीसँगै महानगरीय ट्राफिक प्रहरी प्रभाग, महिला सेल तथा बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ।
बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभागहरु कालीमाटी अन्तर्गत नै रहेका छन्। उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्न थालिएको जनाएको छ।