भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा जारी
काठमाडौं, जेठ ७ : भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नक्सा सार्वजनिक गरेकी हुन्।
मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेसँगै आज लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा जारी गरिएको हो।
नयाँ नक्सा अनुसार, नेपालको क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ बर्गकिलोमिटर हुनेछ। अहिले अतिक्रमित क्षेत्रको तीन सय ३५ किलोमिटर भूभाग समेटिएको छ। यसअघि नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ बर्गकिलोमिटर थियो।
कालापानी र लिपुलेकको क्षेत्रफल समेटिएको भएपनि लिम्पियाधुराको क्षेत्रफल समेटिएको थिएन्। अहिले पनि तीनै ठाउँमा भारतीय सुरक्षाकर्मी तैनाथ छन्।