राप्रपा संविधान संशोधन विद्येयकको पक्षमा

काठमाडौं, जेठ १४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निशान छाप परिवर्तन गर्न संसदमा प्रस्तुत संविधान संशोधन विद्येयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको बुधबार सम्पन्न वैठकले विद्येयकको समर्थन गर्ने निर्णय लिएको सचिवालय प्रमुख धु्रवबहादुर प्रधान तथा भाष्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यही सन्दर्भमा प्रधानमन्त्री केपी ओलीको आह्वानमा मंगलबार सम्पन्न सर्वदलीय वैठकमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले छलफलमा सहभागी हुँदै भने, ‘छुटेका भूमि समेटेर नक्सा निर्माण गर्ने असाध्यै राम्रो काम भएको छ । राप्रपा यो उचित र सह्रानीय कार्यको पक्षमा छ ।’

नेपालको अभिवाज्य भूमि फिर्ता लिन र भोगचलनमा ल्याउन तत्कालै द्विपक्षीय वार्ता सम्पन्न गर्नु पर्नेमा राणाले जोड दिए ।

‘आफ्नो भूमि फिर्ता लिने क्रममा भएको नक्सा निर्माण’bout दुइमत छैन । यसमा प्रधानमन्त्री र सरकार धन्यवादका पात्र छन् । तर कालापानी, लिपुलेक, लिम्पियाधुरासहित नक्सा जारी गरेर मात्र नेपाली भूमि फिर्ता आउने होइन । भोगचलनको तहमा जान नेपाल र भारतबीच द्विपक्षीय वार्ता जरूरी छ । तर हालसम्म यस दिशामा प्रभावकारी पहल भएको देखिन्न ।’

राप्रपा अध्यक्ष राणाले भने, ‘कुटनीतिक प्रयास फितलो भएको हो कि ? कमी कमजोरी के हो ? सरकारले यसमा पूर्ण ध्यानकेन्द्रीत गरेर यथाशिघ्र द्विपक्षीय वार्ताको तिथि मिति निश्चित गर्न जरूरी भएको छ । नक्सा बमोजिम नेपालको सार्वभौम भूमि फिर्ता लिनु पर्छ भन्ने जनमत छ, राष्ट्रिय आवश्यक्ता र चाहना पनि यही हो । यसकारण वार्तामा विलम्ब नगरौं ।’

राणाले नक्सा निर्माणको सुरूबाटै सर्वदलीय प्रयास अघि बढाएको भए उपयुक्त हुने धारणा प्रस्तुत गरे ।

‘सर्वदलीय वैठक आह्वान भएको छ । निश्चित रूपमा सरकारको आफ्नै तयारी छ नै होला । यद्यपि अभिवाज्य भूमि संलग्न गरेर नक्सा निर्माण गर्ने क्रमको प्रारम्भबाटै सर्वदलीय प्रयास भएको भए, अरू दल सबैले सरकारको सकारात्मक प्रयासमा बल दिने, योगदान गर्ने अवसर प्राप्त हुन्थ्यो,’ उनले भने । ‘राष्ट्रिय मुद्दा राष्ट्रिय रूपमै सम्बोधन गरौं, सर्वदलीय प्रयासलाई जारी राखौं ।’