३९ जना यात्रु बोकेको टिप्पर कर्णाली खस्यो, ३३ बेपत्ता
कालिकोट जेठ २८ : करिब ३९ जना यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । बुधवार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा टिप्पर कालिकोटको कर्णालीमा खसेको हो । स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् भने दुर्घटनामा ३३ जना वेपत्ता भएको जनाइएको छ। ।
लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो। दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् ।
टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै गर्दा लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको थियो।
दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् । रास्कोट जानका लागि साना गाडी मात्र उपलब्ध भएको र भारतबाट आएकाहरुको संख्या धैरै भएपछि टिप्परमा राखेर लगिदैं थियो । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको अनुमान छ । घटनाको थप विवरण आउन बाँकी छ ।