राप्रपाले त्रुटी सच्याउने


काठमाडौं । तीन महिना लगाएर राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षले जारी गरेको केन्द्रीय समिति र कार्य सम्पादन समितिका त्रुटीपूर्ण सूची सच्याइने भएको छ । गठन प्रक्रियामा महत्वपूर्ण सदस्यहरु छुटेको भन्दै पार्टी नेतृत्वले यस्तो जानकारी प्रवाह गरेको हो ।

पार्टी अध्यक्ष पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा राप्रपाको लामो सूची बिहीबार जारी गरे । आफ्नो निर्णयमा पार्टी नेतृत्व तर लामो समय टिक्न सकेन । सूची सार्वजनिक भएको एकाध घण्टामै अध्यक्ष थापाले, ‘महत्वपूर्ण’ साथीहरु छुटेको भन्दै मनोनयनमा भएको गल्ती ‘सच्याउने’ ट्वीट गर्दै आत्मालोचना गरे । अन्याय नगर्ने उनको दावी छ ।

राप्रपाले एकतापछि ३२७ जनाको केन्द्रीय समिति र ८२ जना सदस्य रहेको कार्य सम्पादन समिति गठन गरेको छ । लामो समय लगाएर गठन गरिएको समितिहरुमा महत्वपूर्ण व्यक्तित्वहरु कसरी छुटे भन्ने प्रश्न पेचीलो छ ।

विभाजन र एकताको लामो पृष्ठभूमी भएको पार्टी हो राप्रपा । यस पटकको सूची सार्वजनिक गर्ने प्रक्रिया पनि अचम्मको छ । पूर्ववत पार्टी कै आधारमा, तत्कालीन राप्रपा र राप्रपा संयुक्तको छुट्टाछुट्टै कलममा नामावली प्रकाशन गरिएको छ ।

एकीकृत भएको राप्रपाले एकढिक्का नामावली जारी नगरेर, एकातर्फ राणा अर्कोतर्फ थापाको नाम मुनि नामहरु प्रकाशन गरेबाट पार्टी नेतृत्वको नियतमाथि शंका गर्ने अवस्था स्वभाविक छ । एकता सभा देखि नै राप्रपाले राणा, लोहनी र थापाको क्रमशः मर्यादाक्रम कायम राखेको हो । त्यसकारण संस्थागत रुपमै गुटगत अवस्था झल्किने यस पटकको समितिको सूची, प्राविधिक गल्ती हो कि नियतवश निर्णय भन्ने प्रश्न अनुत्तरित छ ।

एकीकृत भएको राप्रपाले चुनाव चिन्हको निर्णय गर्न बाँकि नै छ । पहिला पनि चुनाव चिन्ह ‘हलो’ का लागि राणा र लोहनी पार्टीबाट अलग भएका थिए । पार्टीका अध्यक्षत्रयले थाँती रहेको चुनाव चिन्हको विषय सबैको चित्त बुझाएर कसरी तार्किक निष्कर्षमा पुर्याउछन्, प्रतिक्षाको विषय बनेको छ ।