सरकारले कोरोनामा भएको खर्चको हिसाब सार्वजनिक गर्यो, शीर्षक नतोकिएको ‘अन्य’मा ४० करोड खर्च
काठमाडौं, जेठ ३१ : सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यकालगायत देशभर सरकारविरुद्ध प्रदर्शन भएपछि खर्च विवरण सार्वजनिक गरेको हो। सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक वालमा लेखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलेनै १० अर्ब खर्च भएको बताएपछि सरकारले केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहबाट अहिलेसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको छ। सरकारले सार्वजनिक गरेको खर्च विवरण अनुसार संघीय संचित कोषबाट सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ, संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृह मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च गरेका छन्।
यसैगरी औषधि तथा स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
त्यसैगरी ४० करोड १५ लाख ९ हजार रुपैयाँ अन्य शिर्षकमा खर्च भएको बताइएको छ । तर अन्यभित्र के–के समावेश गरियो भन्ने खुलाइएको छैन ।
यसैगरी प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ भने प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार, वागमती प्रदेशले १३ करोड ६७ लाख र गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् । यसैगरी प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ, कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । विवरणअनुसार सबैभन्दा धेरै खर्च सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम खर्च प्रदेश ५ मा भएको देखिन्छ । स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।- काठमाडौँ प्रेस
