‘सीमा विवाद वार्ताबाट समाधान खोज्ने सहमतिको उल्लंघन’ : भारत

काठमाडौं, जेठ ३१ : लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्नेगरी नेपालले सर्वसम्मत रुपमा गरेको संविधान संशोधनमा भारतले असहमतिको प्रतिक्रिया दिएको छ ।

भारतीय विदेश मन्त्रालयले नेपालको संविधान संशोधनपछि जारी गरेको बक्तव्यमा आफ्नो केही क्षेत्रलाई समावेश गरेको भन्दै मान्य नहुने धारणा सार्वजनिक गरेको छ। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका हुन् । ‘यसले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ’, उनले भनेका छन् । 

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेर नयाँ नक्सा जारी गरसँगै भारतले विरोध गर्दै आएको छ । तर शनिबार संसदले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई सर्वसम्मत अनुमोदन गरेको छ ।