विश्वमा ८१ लाखलाई कोरोना, निको हुने दर नेपालमा धेरै कम

काठमाडौं, असार २ : संसारभर कोरोना संक्रमितको संख्या ८१ लाख नाघेको छ। संक्रमित थपिएसँगै निको हुने क्रम पनि बढिरहेको छ। तर, नेपालमा भने निको हुने दर संसारकै कम रहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, गत २४ घन्टामा एक लाख ५२ हजारभन्दा बढी संक्रमित थपिएका छन्। योसँगै संसारभर संक्रमितको संख्या ८१ लाख ३६ हजार तीन सय २५ पुगेको छ।

सबैभन्दा बढी अमेरिकामा २१ लाख ८२ हजार नौ सय ५२ जनामा कोरोना देखिएको छ। गत २४ घन्टामा मात्रै २० हजार सात सय २३ संक्रमित थपिएका छन्।

त्यस्तै, दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमितको संख्या आठ लाख ८१ हजार पाँच सय ५६ पुगेको छ। गत २४ घन्टामा मात्रै २३ हजार ६ सय ७४ जना संक्रमित थपिएका छन्।

रुसमा पाँच लाख ३७ जार सात सय १० जनामा कोरोना देखिएको छ। गत २४ घन्टामा आठ हजार दुई सय ४६ जनामा संक्रमण देखिएको छ।

चौथो नम्बरमा रहेको भारतमा पनि संक्रमितको संख्या तीन लाख ४३ हजार २६ पुगेको छ। एकैदिन १० हजार दुई सय ४३ जनामा कोरोना देखिएको छ।

अहिलेसम्म संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ३९ हजार पाँच सय ५४ पुगेको छ। जसमध्ये अमेरिकामा एक लाख १८ हजार दुई सय ८३, ब्राजिलमा ४४ हजार एक सय १८, रुसमा सात हजार दुई सय ८४, भारतमा नौ हजार नौ सय २१ र बेलायतमा ४१ हजार सात सय ३६ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमण भएकामध्ये ४२ लाख ४८ हजार एक सय २१ जना निको पनि भएका छन्। सबैभन्दा बढी अमेरिकामा आठ लाख ८९ हजार आठ सय ६६ जना निको भएका छन्। त्यस्तै, ब्राजिलमा चार लाख ६४ हजार सात सय ७४, रुसमा दुई लाख ९४ हजार तीन सय ६ र भारतमा एक लाख ८० हजार चार सय ६० जना निको भएका छन्।

नेपालमा भने निको हुने दर एकदमै कम रहेको छ। संसारभर ५० प्रतिशतको हाराहारीमा संक्रमित निको भएका छन्।

नेपलामा भने निको हुने दर १६ प्रतिशतको हाराहारीमा रहेको छ। अहिलेसम्म नेपालमा एक हजार ४१ जना निको भएका छन्। जबकी संक्रमितको संख्या ६ हजार दुई सय २१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाबाट नेपालमा १९ जनाको मृत्यु भएको छ।