म्याच फिक्सिङमा सागर थापासहित ६ जनाले पाए सफाइ

काठमाडौं, असार २ : म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागरथापासहित ६ जना खेलाडीले सफाइ पाएका छन्। मंगलबार सर्वोच्च अदालतले सागरसहित ६ खेलाडीलाई म्याच फिक्सिङको मुद्दामा सफाइ दिएको हो।

सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसलालाई सदर गर्दै उनीहरुलाई सफाइ दिएको हो। विशेष अदालतले २०७५ जेठ २४ गते सागरसहित ६ जनालाई सफाइ दिने फैसला गरेको थियो।

म्याच फिक्सिङको आरोपमा प्रहरीले २०७२ असोज २७ गते सागरसहित विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई पक्राउ गर्दै कात्तिक २२ गते राज्यविरुद्धको कसूरमा विशेष अदालतमा मुद्दा चलाएको थियो। 

उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायतका देशविरुद्धको फुटबल खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो। उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटलगायतका खेलमा फिक्सिङ गरेको आरोप थियो । म्याच फिक्सिङको अभियोग लागेपछि एसियाली फुटबल महासंघ (एएफपी)ले उनीहरुलाई खेलमा आजीवन प्रतिबन्ध लगाएको थियो। 

सर्वोच्च अदालतले सफाइ दिएपछि पूर्वकप्तान सागर थापाले फेसबुकमार्फत सत्यको जीत भएको प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, ‘सत्यको जीत भयो, सम्मानित सर्वोच्च अदालतबाट पनि न्याय त पाइयो, आजसम्मको मेहनत र परिश्रमको मूल्यांकन कसले गरिदिने, सरकार या एन्फाले ?’ काठमाडौँ प्रेस