भारत-चीन सीमा विवाद: चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

भिडन्तमा मारिएका एक भारतीय सैनिकको अन्तिम संस्कार बिहीवार गरिएको थियो

चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ।

भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन।

गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने यसले दुई शक्ति राष्ट्रबीच तनाव बढाएको थियो।

चीनले भिडन्तमा आफ्नो पक्षको क्षतिको ’boutमा बोलेको छैन। भारतका भने कम्तीमा पनि ७६ सैनिक घाइते भएका छन्।

दुवै देशले एकअर्कालाई भिडन्तका लागि उक्साएको आरोप लगाएका छन्।

सो क्षेत्रमा दुई देशको सिमाना राम्ररी सीमाङ्कन नभएको र भौगोलिक अवस्था परिवर्तन हुने खालको रहेको छ।

इन्डिया टुडेका वरिष्ठ सम्पादक शिव अरुरका अनुसार भारतीय सैनिक मुक्त गर्ने कुरा बुधवार भएको वार्ताको प्रमुख विषय थियो।

बिहीवार दिउँसो चीनले भिडन्तमा प्रयोग गरेको भनिएको हतियारको तस्बिर सार्वजनिक भएको थियो।

बीबीसीलाई यो तस्बिर भारतीय सेनाको एक उच्च अधिकारीले उपलब्ध गराएका हुन् जुन चिनियाँ सैनिकले भारतीय सैनिकसँगको भिडन्तमा प्रयोग गरेका बताइएको छ

सीमामा कार्यरत एक वरिष्ठ सैन्य अधिकारीले बीबीसीलाई चिनियाँ सैनिकले प्रयोग गरेको भनी उपलब्ध गराएको तस्बिरमा किला टाँसिएका फलामका रडहरू रहेका छन्।

यो तस्बिर पहिलो पटक ट्वीट गरेका रक्षा मामिला विज्ञ अजय शुक्लाले त्यो हतियारको प्रयोगलाई बर्बरता भनेका छन्।

त्यस क्षेत्रमा गोली, बन्दुक, बारुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ। सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आक्रामक गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो।

भारतमा ट्विटरमा उक्त तस्बिरको व्यापक प्रयोग भएको छ र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरिरहेका छन्।

त्यस’boutमा भारत र चीन दुवै पक्षका अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।

समाचार विवरणहरूका अनुसार दुवै पक्षका सैनिकहरूबीच ४,२६७ मिटरको उचाइमा हिमाली क्षेत्रमा भिडन्त भएको थियो र त्यसक्रममा कतिपय सैनिकहरू भीरबाट शून्यभन्दा कम तापक्रममा तीव्र गतिमा बग्ने गलवान नदीमा खसेका थिए।

सन् १९९६ को सहमतिअनुसार “लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन्……विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्ने छैनन्।”

तर चीन र भारतबीच आपसी सीमा क्षेत्रमा हालैका हप्ताहरूमा तनावपूर्ण भिडन्तहरू भएका छन्।

मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए।- बीबीसी