नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने नेकपाको निर्णय

काठमाडौं, असार ६ : विदेशबाट विहे गरेर आउने महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने नेकपाले निर्णय गरेको छ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकले विदेशबाट विहे गरेर आउने महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नागरिकता दिने विषयमा छलफल भएको थियो।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यतिञ्जेलसम्म स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरिउको बताए। ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागरकिता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागरिकताका प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो,’ श्रेष्ठले भने।

अहिले नागरिकतासम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको छ। विधेयकमा विदेशबाट विहे गरेर आएकी महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रस्ताव गरिएको छ। नेकपाले प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो।

कांग्रेस तथा जसपा यसको विपक्षमा छ। दुवै पार्टीले नागरिकता एने २०६३ अनुसार नै व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन्।

अब नागरिकतासम्बन्धी विधेयक बहुमतका आधारमा पारित गरिने भएको छ। नेकपा सचिवालयले बहुमतका आधारमा पारित गर्ने सहमति गरेको छ।

राज्य व्यवस्था समितिले दुई वर्षदेखि विधेयकमा सहमति जुटाउन सकेको थिएन्। नेकपा सांसद एकातिर तथा कांग्रेस र सजपा सांसद अर्कोतिर रहँदै आएका छन्।

बिहीबारको बैठकमा पनि सहमतिका लागि प्रयास भएको थियो। तर, गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि समय मागेका थिए। जसअनुसार, आज नेकपा सचिवालयले निर्णय गरेको हो।