मुहार पुस्तिका भित्रको राजनीति

धेरैले आ–आफ्नो मुहार पुस्तिकाको ‘कभर’ र ‘प्रोफाइल पिक्चर’ बारम्बार फेरेको देख्दा सन्देशलाई पनि रहर नजागेको भने हैन । तर देशको परिस्थितिले उसलाई यो मौका नै दिएन । या भनौ, उसले जुन सोचका साथ सुरुमा तस्वीर छनौट गरेर राख्यो, त्यसबाट विचलित हुने आँट उसले गर्न सकेन । समयसंग जुन अपेक्षा उसले गरेको थियो त्यो पुरा हुन नसकेपछि उ आफ्नै अडानमा अडिग रह्यो । सुरुमा चयन गरको तस्वीरलाई निरन्तरता दिइरहन उसलाई रहर पटक्कै थिएन । अरुको जस्तै मुहार पुस्तिकाको तस्वीर फेर्ने चाहना उसमा पनि तिब्र रुपमा थियो । तर अपसोच, चाहना हुँदाहुँदै पनि अनुकुल समय उसको लागि जुरिरहेको थिएन ।
२०७२ असोज ३ गते देशमा नयाँ संविधान जारी भयो । २०६२-६३ को जनआन्दोलनपश्चात पनि झण्डै एक दशकको संक्रमणकालले थिलथिलो भइसकेको देशले नयाँ सविधान पाँउदा सन्देशको मनमा नयाँ आशाको दियो बल्यो । उ हर्षित भयो, अनि देशले कोल्टे फेर्नेमा विश्वस्त भयो । नेताहरुले देशलाई सिंगापुर र स्वीजरल्याण्ड बनाउने भनि बेलाबेलामा गरेको भाषण संझिएर उसले एक पटक घुटुक्क थुक निल्यो ।
उ एकछिन घोत्लियो– “अब कभर र प्रोफाइल पिक्चर फेर्ने समय यही हो ।”
तर अपसोच मधेसले नयाँ संविधानमा चित्त बुझाएन । उ दिपावलीमा सरिक भएन । बरु उल्टै संविधान जलायो । सन्देशको मनमा चिसो पस्यो । देशले लामो समयदेखि भोगी रहेको अस्थिरता अन्त्य भई विकासमा फड्को मार्ने विश्वासमा फेरि तुसारापात भयो । यो घडीमा तीन करोड कोटी नेपाली सबैले दिपावली मनाउन पाएको भए त्यसको रौनक नै बेग्लै हुने थियो । यसरी समय नै सन्देशले सोचे अनुरुपको हुन सकेन । उसले नमिठो मान्यो ।
हो, लोकतन्त्र भनेको बहुमतको शासन प्रणाली हो । यसले सतप्रतिशतलाई चित्त बुझाउन सक्दैन । तर गणतान्त्रिक संविधान बनिरहँदा कम्तिमा २०६२-६३ मा आन्दोलनरत दल सबैको एकमत हुनु पर्ने थियो । यसको अर्थ देशको हिमाल, पहाड र तराई एकै ठाँउमा हुनु पर्थो । ऐतिहासिक क्षणमा सबैले एकसाथ खुसी साटासाट गर्नु पर्ने थियो । मधेसबादी दलहरु एकै ठाँउमा उभिन असहमत भए । मधेसले संविधानप्रति असन्तुष्टी जनायोे । छिमेकी भारत पनि नेपालको संविधानप्रति असंतुष्ट देखियो । मित्र देशको चाहना संविधानमा प्रतिबिम्बित नगरिएको फलस्वरुप करीव छ महिनाको नाकाबन्दीको सामना देशले गर्नु पर्यो । भरखरैको महाभूकम्पबाट जर्जर भएको अर्थ ब्यवस्थामा नाकाबन्दीले थप धक्का पुर्यायो नै, पहाड र मधेशको सम्बन्धमा पनि चिसोपना ल्यायो । यस्तो घटनाले सन्देशको पनि चित्त दुखायो । कभर र ‘प्रोफाइल पिक्चर’ फेर्ने उसको चाहनामा ठूलो अवरोध खाडा भयो ।
सन्देशले मुहारपुस्तिकाको खाता खोल्दा २०६९ को सुरवातको समय संझियो । त्यस बखत देशमा गणतन्त्र आए पनि अस्थिरता र बन्दहडताल ब्याप्त थियो । सत्ताको फोहरी खेलले ५० को दशकलाई नै संझना गराइ रहेको थियो । राजनीतिक दल र तीनका नेताहरु सत्ता र शत्तिको आडमा खुलेआम भ्रष्ट्राचार, अपहरण, चन्दा आतंक, लुटपाट जस्ता गतिविधिमा संलग्न हुँदा विगतको भन्दा झन जटिल परिदृश्य नेपालको राजनीतिमा देखा परिरहेको थियो । दलहरुको आपसी कलहले परिस्थितिलाई झन जटिल बनाइ रहेको थियो । यी सब गतिविधिका कारण पहिलो संविधान सभाले निर्धारित समयमा जनतालाई नयाँ संविधान दिन सकेन । पहिलो संविधानसभा विघटन भएर दोस्रो संविधान सभाकोे निर्वाचनमा देश जुटेको थियो ।
मुहार चित्रमा कभर र प्रोफाइल पिक्चर छनोट गर्नु पर्ने भयो । एक छिन गम्यो । २०६२-६३ को जनआन्दोलनपछि पनि नेपालीे राजनीतिको क्षितिजमा आशाको नयाँ किरण देखा पर्न सकेको थिएन । उसले पुरानै विकृति र विसंगति पुनराबृति भइ नयाँ नेपाल बनाउने अभिलाषामा निरन्तर कालो बादल माडारिनै रहेको पायोे । यसैले गर्दा उसले ‘कभर पिक्चर’का लागि निराशापूर्ण भविष्य प्रतिविम्वित हुने कालो बादल माडारिएको तस्वीर छनौट गर्ने निर्णयमा उ त्यतिखेर पुगेको थियो ।
अब आयो पालो ‘प्रोफाइल पिक्चर’को । तत्कालिन अवस्थामा बन्द, हडताल एवं चक्काजाम नियमित जस्तै बनेको थियो । विभन्न राजनीतिक दल, तीनका भातृ एवं जातीय संगठन लगायत नयाँनयाँ उम्रने गरेका संस्था र समूहरु दिनहुँ जसो आआफ्नो स्वार्थ पुरा गर्न÷गराउन सडकमा शक्ति प्रदर्शनमा तल्लिन थिए । यतिसम्म कि लोग्ने–स्वास्नीको झगडा हुँदा समेत सडक जाम गर्ने प्रचलनको शुरुवात भयो । यसका कारण देश भरि नै सडक सँधै जसो अशान्त र असुरक्षित रहने गर्थियो । अधिकारका कतिपय मागहरु जायज पनि थिए होलान । तर जातिय र क्षेत्रीय नारा दिएर आपसी सद्भाव खलबल्याउने गतिविधि सडकमा क्रमिक रुपले बढ्दो थियो । यसक्रममा आपसी सद्भाव खलबल्याउने गतिविधिलाई प्रतिबिम्बित गर्न बन्द सडकलाई ‘प्रोफाइल पिक्चर’को रुपमा राख्ने निधो गरेको थियो उसले ।
नयाँ संविधान जारी भएपछि देश संघीय संरचनामा प्रवेश गर्यो । नयाँ संविधान अनुरुप देशमा संघीय, प्रादेशिक र स्थानीय निकायको निर्वाचन हुने भयो । तर दलहरुवीचको तिक्तातामा कुनै कमी आएको थिएन । देशले संविधान नयाँ पाए पनि दलहरुको संस्कार र सोच पुरानै रह्यो । सत्ता र शक्ति प्राप्त गर्नका लागि जुनसुकै हतकण्डा अपनाउने विगतको प्रबृतिमा सुधार हुने छनक रत्ति पनि देखिएन । दलहरु जुट्नभन्दा फुट्नमा नै रमाइ रहेका थिए । यस अवस्थामा कुनै एक दलले बहुमत प्राप्त गरी स्थिर सरकार बनाउने संभावना क्षीण थियो । तर तत्ककालिन समयमा ठूला कहलिएका दुई बामपंथी शक्तिहरुले एकताको उद्घोष सहित आगामि निर्वाचनमा संयुक्त उमेदवारी दिने निर्णयले देशले लामो समयपछि स्थिर सरकार पाउने आशा जगायो । नभन्दै निर्वाचनमा बाम गठबन्धनले अत्यधिक बहुमत प्राप्त पनि गर्यो ।
नयाँ बनेको सरकारले समृद्ध नेपाल, खुसी नेपालीको सपना बाँड्यो । नयाँ सरकारको सपनाले धेरैमा उत्साह जगायो । झण्डै तीन दशकदेखि प्रदूषित राजनीतिबाट वाक्कदिक्क भएका अधिकांश नेपालीले अबका दिनमा स्वच्छ वातावरणमा सास फेर्न पाइनेमा ढुक्क भए । डाँडाकाँडामा रेल अनि नदिनालामा पानी जहाज कुदेको सपना देखाइदा सन्देशको पनि भइँमा खुट्टा थिएन । देशका दुई ठूला बामशक्ति मिलेर बहुमतको सत्ता हाँक्ने भएपछि राजनीतिमा विगतको जस्तो फोहरी खेल दोहरिन्छ भन्ने शंका गरिरहनु पर्ने ठाँउ पनि भएन । अब भने ‘कभर’ र ‘प्रोफाइल पिक्चर’ फेर्ने माहोल बनेको हो की जस्तो लाग्यो सन्देशलाई । उसले एक पटक विगतको राजनीतिलाई नियाल्यो । कताकता उसले राम्रो छनक पाएन । उ विगतबाट विश्वस्त हुन सकेन । उसले पुरानै पात्र र प्रबृति पनि पुरानै पायो । यो अवस्थामा उसको भित्रि मनमा देशको तस्वीर बदलिन्छ भन्ने कुरामा संशय पैदा भयो । उसले मुहार पुस्तिकाको तस्वीर बदल्ने आँट फेरि पनि गरी हाल्न सकेन ।
एकिकृत भइ बनेको दलमा दुई अध्यक्ष हुने ब्यवस्था शुरुमा अनौठो लागेको थियो । तर वायुयान पनि दुई पाइलटले उडाउँछन भन्ने उदाहरण पेस भएपछि धेरैलाई चित्त बुझाउने बाटो भने भयो । एक पटक फेरि संशयकावीच आशा पलाएर आयो । तर बाचा गरे अनुरुपको वायुयानको यात्रा सुखद र आरामदायी हुन नसकेको संकेत उडानले गति नलिदै देखा पर्न थाल्योे । नेपालको सन्दर्भमा अत्याधिक बलशाली दल भए तापनि तोकिएको समयमा सम्पूर्ण एकता प्रक्रिया नटुगिंदा वायुयान कुन बेला भूँइमा बजारिने हो भन्ने डर कायमै रह्यो । ठूलो उत्साह र आकांछाका साथ उडान भरेको वायुयानका दुई पाइलटवीच बेलाबेलामा खटपट हुने क्रम रोकिन सकेको छैन । यसले गर्दा दुई पाइलटले जहाजलाई नियन्त्रणमा राख्न सकिरहनेमा सन्देह पैदा गराएको छ । यस प्रकारको परिदृश्यमा दुर्घटनाको अनिष्ट अझै नटरेको निक्र्याैल सन्देशले निकाल्यो ।
अझै पनि दुइ पाइलटको रवैयाले सबै यात्रुहरुलाई निरास बनाउने क्रम जारी छ । उनीहरुको रस्साकस्सीले यात्रुहरुको मनोबिज्ञान खलबल्याएको छ । यात्रुहरुलाई शंकाको भूमरीमा धकेल्ने प्रयास भइरहेछ । यसले गर्दा ठूलो आशा र विश्वास गरेका पाइलटहरुसंग यात्रुहरु नै रुष्ठ हुने वातावरण बन्दै छ । असंतुष्टिहरु पोखिने क्रम बढ्दै छ । पाइलटहरुले बाचा गरे अनुरुप गणतन्त्रको उडान भर्न नसेकेको आरोप छताछुल्ल हुँदै छ । आक्रोस पोख्नेहरुको भिड बढ्दै छ । पाइलटहरु भने यात्रुहरुमाथि नै दोष थोपर्न तल्लिन छन् । आफ्ना कमिकमजोरी नियाल्न छाडेर यात्रुहरुको असन्तुष्टि र आवाजलाई षडयन्त्रको रुपमा देख्दैछन् । यात्रुहरुको चाहना अझै पनि पाइलटहरु आ–आफ्नो कमीकमजोरी केलाएर जिमेवार भएर उडान भरुन भन्ने नै छ । दुई पालटहरुवीचको एकआपसको द्वन्दले केही गरीे जहाज दुर्घटनामा पर्यो भने देशकै लागि ठूलो दुर्भाग्य हुने त्रास यात्रुहरुमा छ । यसै कारणले पनि यात्रुहरुले पाइलट साहबहरुलाई निरन्तर सचेत गराइ रहेकाछन– संयमित बन र उडानलाई भय रहित बनाउ भनेर । तर पाइलटहरुमा अहँम चुलिदै गएको भान यात्रुहरुले गर्न थालेका छन । यसरी देशको आकाशमा कालो बादल माडारिने क्रम रोकिएको दृश्य अगाडि आउन सकेन । यी सब गतिविधिले सन्देशको मुहारचित्रको तस्वीर बदल्ने चाहनालाई पनि निरन्तर लत्याइरहेको छ ।
एकातर्फ वायुयानले अनियन्त्रि उडान भर्दै गर्दा अर्कोतर्फ भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा अफ्नो देशको नयाँ नक्सामा समाहित गरेपछि नेपालीको मन रोयो । झन् त्यसमाथि भारतले त्यस क्षेत्र भएर चिनसंग जोडने सडक नै उद्घाटन गरेपछि राष्ट्रवाद सबै नेपालीको मनमा छताछुल्ल भयो । भारतको हेपाहा र मिचाहा प्रबृति सतहमा आयो । सरकारले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्दै संविधान समेत संशोधन गर्ने उद्घोष गर्यो । भारतको लागि यो कदम झन् असह्य हुन पुग्यो । उसले नेपालको राष्ट्रिय अस्तित्व नै स्वीकार नगरेको छनक दियो । भारतको कडा धम्किका बाबजुद पनि अन्तत प्रतिनिधि सभाले नयाँ नक्शा पारित गर्न पेश गरिएको संविधान संशोधन विधेयक सर्वसम्मतले पारित गर्यो । निश्चय पनि नक्सा पारित गर्नु ठूलो हैन । मुख्य कुरा त राट्रियता र भौगोलिक अखण्डताको सवालमा देश एक जुट हुनु हो । यसले हिमाल, पहाड र मधेसलाई एकै ठाँउमा ल्याइदियो । सबै दलहरले अभुतपूर्व राट्रिय एकता प्रदर्शन गरे । वास्तवमा यस पटक दलहरु एकै ठाँउ उभिएर जनताका लगि खुसीको संदेश दिन सफल भए । यसले आगामि दिनमा देशभित्र विद्यमान विकृति र विसंगति दूर गर्दै देशको विकास गतिलाई तिब्रता दिन हाम्रा नेताहरु सक्षम छन् भन्ने आशा पनि जगायो । यति मात्र हैन, अब हाम्रा नेताहरु एक आपसमा आरोप प्रत्यारोपमा मात्र नअल्झिएर मूल मद्दामा एकजुट हुन सक्छन भन्ने विश्वास पनि जगाएको छ ।
२०७७ जेठ ३१ गते नेपालको नयाँ नक्सा अनुरुप निशान छाप परिवर्तन गर्न संविधान संशोधन भएको दिन, सबैको मन खुसीले गदगद भयो । मधेस पनि खुसी भयो । सन्देश पनि खुसी भयो । तर सबै जना एकै पटक खुसी हुन पाउनु नै सबैका लागि औधि खुसीको क्षण वन्न पुग्यो । यसै खुसीयालीमा सन्देशले आपसी सद्भाव खलबल्याउने गतिविधिलाई प्रतिबिम्बित गर्न तत्कालिन अवस्थामा मुहार चित्रमा राखेकोे नेपाल बन्दको ‘प्रोफाइल पिक्चर’ फिर्ता लियो ।
लामो समयपछि ‘प्रोफाइल पिक्चर’ बदल्न पाएकोमा हर्षले विभोर हुँदै गहिरो सास फेरेर संन्देशले आकाशतिर हेर्यो । कोरोनाको कारण भएको बन्दाबन्दीले विगत केही महिनादेखि आकास स्वच्छ र सफा छ । देशको राजनीतिको तस्वीर पनि स्वच्छ र सफा भएको हेर्न कहिले पाइएला भन्ने प्रश्न आँफैलाई गर्यो । यतिकैमा उसको मानसपटलमा वायुयान अनियन्त्रि हुँदै कालो बादलमा प्रवेश गरेको दृश्य अगाडि आयो । उसको मन चसक्क भयो । कालो बादल मडारिएको कभर पिक्चर भने यथावत नै राख्ने निर्णयमा पुग्यो संदेश । नेपाली राजनीतिमा मडारिएको कालो बादललाई स्वच्छ र सफा आकाश भएको तस्वीरले बदल्ने दिन चाँडै आओस भन्ने प्रार्थना खुला आकाशसंग गर्यो उसले ।