बालुवाटारको ओली-नेपाल निकट बैठकमा प्रधानमन्त्रीले मागे सुझाव
काठमाडौं, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री र स्थानी कमिटीका सदस्यहरुसँग परामर्शमा गरिरहेका छन्।
आज बिहान उनले मन्त्री र स्थानी कमिटी सदस्यहरुलाई परामर्शका लागि बालुवाटार बोलाएका हुन्। उनले आफू निकट र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुलाई मात्रै बोलाएको जनाएको छ। परामर्श बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरु भने बोलाएको छैन।
बालुवाटार स्रोतका अनुसार, प्रचण्ड निकट रामबहादुर थापा बादल र लेखराज भट्ट मात्रै सहभागी छन्। उनीहरुले यस अघि प्रधानमन्त्री ओलीको समर्थन गर्दै आएका थिए।
परामर्शमा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पनि बोलाएका छन्। तर, बैठकमा प्रचण्डनिकट मन्त्रीहरु वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलगायतलाई नबोलाएको बालुवाटार स्रोतले जनाएको छ।
मंगलबारको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि आज बिहानैदेखि परामर्शमा जुटेका हुन्। स्थायी कमिटी बैठकमा बोलेका १८ जना सदस्यमध्ये १७ जनाले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। उनी एक्लैले बचाउ गरेका थिए। उनको पक्षमा कोही बोलेका थिएनन्।
मदन भण्डारी जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले आफूलाई भारतले हटाउन खोजेको बताएका थिए। त्यसका लागि भारतीय दूतावास र आफ्नै पार्टीका नेता लागेको उनले आरोप लगाएका थिए।
उनको यहि अभिव्यक्तिलाई लिएर नेकपा स्थायी कमिटी बैठकमा राजीनामाको माग उठेको हो। मंगलबारको नेकपा स्थायी कमिटी बैठक एजेन्डा छोडेर राजीनामाको विषयमा केन्द्रित भएको थियो।
आफू संकटमा पर्न थालेपछि मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेका थिए। मंगलबार दुई पटक राष्ट्रपतिलाई भेटेका प्रधानमन्त्री ओलीले आज बिहान मन्त्री र स्थायी कमिटी सदस्यलाई परामर्शका लागि बालुवाटार बोलाएका हुन्।