बुधबार पनि स्थायी कमिटीमा मागियो प्रधानमन्त्री ओलीको राजीनामा, योगेशले गरे बचाऊ

काठमाडौं, असार १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय पेचिलो बन्दै गएको छ।  

पार्टी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरिरहेका बेला बुधबारको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरुले पनि राजीनामाको विषयलाई प्राथमिकताका साथ उठाएका छन्। बुधबारको बैठकमा बोल्न पाँचमध्ये चार जना स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। 

उनीहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा बस्ने नैतिक आधार गुमाइसकेको भन्दै प्रधानमन्त्री ओलीलाई नेतृत्व छोड्न भनेका हुन्। बैठकमा बोलेका स्थायी कमिटी सदस्यहरु मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र एनके प्रसाईंले दुवै पदबाट राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए भने पर्यटनमन्त्रीसमेत रहेका योगेश भट्टराईले भने प्रधानमन्त्री ओलीको बचाउ गरेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले जानकरी दिए।

बैठकमा स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले प्रधानमन्त्री ओलीले देश हाँक्ने नैतिक अधिकार गुमाइसकेकाले तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए। ‘तपाईँले अब सरकार र पार्टी चलाउन सक्नुहुन्न,’उनले भने,‘अब तपाईँले छोडेर मुलुक र पार्टीलाई निकाश दिनुपर्छ।’ यादव बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए। 

बैठकमा अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पनि ओलीले अब दुवै पदबाट राजीनामा दिनु पर्ने बताएका थिए। उनले प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले भारतले आफूलाई सत्ताबाट हटाउन खोजेको र पार्टीका नेताहरु पनि त्यो खेलमा लागेको भनेर सार्वजनिकरुपमै अभिव्यक्ति दिनु गैरजिम्मेवार र नैतिक आचारण विपरीत भएको दाबी गरे।

‘तपाईँजस्तो व्यक्तिले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन मिल्दैन,’ बैठकमा उनले भने,‘ अब पदमा बसिराख्ने सबै नैतिकता गुमाइसक्नु भएको छ। तत्काल बाटो खुला गर्नुस्।’ पोखरेलले एमसीसीका विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका थिए। प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै बैठकमा उनले भने,‘पार्टीले एमसीसी’bout आधिकारिक धारणा सार्वजनिक नगर्दै तपाईं किन एमसीसीको प्रचार गर्दैै हिँड्नु भयो? 

यस्तै, आमन्त्रित स्थायी कटिमी सदस्य पेशल खतिवडाले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताए। उनले प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन खोजेको भन्ने अभिव्यक्ति गरैजिम्मेवारपूर्ण र कूटनीतिक मर्यादाविपरीत भएको दाबी गरे।

उनले अब प्रधानमन्त्री ओलीसँग पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पदमा बसिराख्ने नैतिकता बाँकी नरहेकाले राजीनामा दिनु पर्ने बताए। पार्टीभित्र एक व्यक्ति, एक पदको नीति रहेकाले अध्यक्ष एवं प्रधानमन्त्रीजस्तो व्यक्ति कूटनीतिक मर्यादा विपरीत बोलेकाले सुरुमा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने उनको जोड थियो। 

अर्का आमन्त्रित स्थायी कमिटी सदस्य आमन्त्रित स्थायी कमिटी सदस्य एनके प्रसाईंले पनि प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। बैठकमा प्रसाईंले प्रधानमन्त्री ओलीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको टिप्पणी गरे।

उनले भने,‘  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री जस्तो सम्मानीत पदमा रहेको व्यक्तिले हलुका अभिव्यक्ति दिनु आफैँमा गैरजिम्मेवार काम हो। त्यसैले अब उहाँलाई नैतिक रुपमा पदमा बस्ने अधिकार छैन। अस्वस्थ्य पनि हुनुहुन्छ राजीनामा दिएर आराम गरेर बसे हुन्छ।’ 

योगेशले गरे प्रधानमन्त्रीको बचाऊ, भने– दुवै अध्यक्षमा गम्भीरता देखेको छु, मिल्नुस्

वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका योगेश भट्टराईले भने प्रधानमन्त्री ओलीको बचाऊ गरेका छन्। पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले बुधबारको बैठकमा न प्रधानमन्त्री ओलीको राजीनामा मागे न त उनको कार्यशैलीको विरोध नै गरे। 

भट्टराईले पार्टी एकतालाई अझै बलियो बनाउन दुई अध्यक्ष मिलेर जानु पर्नेमा जोड दिए। भट्टराईले बैठक सरकारले कोरोना महामारी नियन्त्रणका लागि राज्यको स्रोत साधनले भ्याएसम्म राम्रो काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीको बचाऊ गरेका थिए। जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र सरकारको बचाउमा बोल्ने भट्टराई पहिलो नेता हुन्।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भट्टराईले कूटनीतिक तरिकाले आफ्नो भनाइ राखेको बताए। बैठकमा भट्टराईले भने,‘पार्टीलाई विभाजन हुन नदिन र बलियो बनाउन दुवै अध्यक्षमा गम्भीरता देखेको छु। सबै मिलेर समस्याको निकास खोज्नुपर्छ। त्यसका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु एकजुट हुनुपर्छ।’

यसअघि प्रधानमन्त्री ओलीले बालुवाटारमै बिहान बोलाएको परामर्श बैठकमा पनि मन्त्रीसमेत रहेका भट्टराईले कसैले कसैलाई खुइल्याउनतिर नलागेर पार्टी एकतालाई बलियो बनाउने गरी लाग्नु पर्ने सुझाव दिएका थिए। 

स्थायी कमिटी बैठकमा बुधबारसम्म २२ जना नेताहरुले आ–आफ्नो धारणा राखेका छन्। बैठकमा बोल्ने २२ मध्ये योगेशबाहेक सबैले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका छन्। बैठकमा प्रधानमन्त्री ओली निकट नेताहरुले बोलेका छैनन्। 

प्रतिनिधि र राष्ट्रियसभा बैठकमा कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची भएकाले नेकपाको बुधबारको स्थायी कमिटी बैठक पाँच जना नेताहरुले बोलेपछि स्थगित भएको थियो। स्थायी कमिटीको अर्को बैठक बिहीबार बिहान ११ बजे बालुवाटारमै बस्नेछ। -काठमाडौँ प्रेस