खोकनामा प्रहरी र किसानबीच झडप

ललितपुर, असार २० : ललितपुरको खोकनामा खेतमा रोपाइँ गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ। झडपका क्रमममा प्रहरीले केही सेल अश्रुग्यास पनि प्रहार गरेको छ। 

काठमाडौं–तराई द्रुतमार्गमा पर्ने जमिनमा शनिबार बिहान किसानले खनजोत र रोपाइँ गर्न सुरु गरेपछि प्रहरीले अवरोध गरेको थियो। रोपाइँमा अवरोधपछि किसान र प्रहरीबीच झडप भएको हो। झडपमा परी केही प्रहरी र किसान घाइते भएका छन्। 

जग्गाको मुआब्जा नपाएकाले जमिन खनजोत र रोपाइँ गर्न पाउनु पर्ने माग राख्दै आएका किसान शनिबार बिहानै संयुक्त रोपाइँ कार्यक्रममा जुटेका थिए। तर, किसानहरु खनजोत र रोपाइँका लागि पुगेपछि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो।