काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस भेटियो, समुदाय स्तरमा प्रवेश गरेको विज्ञहरुको ठहर
काठमाडौं, असार २० : काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस भेटिएको छ। सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरमेन्टल सर्भिलेन्स अफ सार्स २’ को प्रारम्भिक अध्ययनमा काठमाडौंका दुई ठाउँको ढलमा कोरोना भाइरस भेटिएको हो।
उपत्यकाका चार ठाउँका ढलको नमूना परीक्षण गर्दा दुई ठाउँमा कोभिड-१९ को भाइरस फेला परेको सिएमडिएनले जनाएको छ। ढलमा समेत कोरोना भाइरस भेटिएपछि उपत्यकामा भित्रभित्रै समुदाय स्तरमा कोरोनाको संकमण फैलिइरहेको पुष्टि भएको छ।
सिएमडिएनका अनुसार दश दिनअघि काठमाडौं उपत्यकाका चार ठाउँका ढलबाट नमूना संकलन गरिएको थियो। तीमध्ये दुई ठाउँको ढलमा कोरोना भाइरस भेटिएको हो।
‘हाम्रो अध्ययनले काठमाडौंमा कोरोना सामुदायमा फैलिएको पुष्टि भएको छ,’ सिएमडिएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक देवेस कर्मचार्यले भने,‘हामीले दुई वर्षअघि पनि टाइफाइड समुदायमा छ कि छैन भने रिसर्च गरेका थियौं। त्यसैलाई आधार मानेर कोरोना भाइरसको पनि अध्ययन गरेका हौं।’
उनका अनुसार काठमाडौं उपत्यकाका १५० भन्दा बढी घरधुरीको ढल मिसिएका ठाउँको नमूना संकलन गरिएको थियो। ‘सार्स–को लक्षण देखिएको छ। कुन ठाउँमा कोरोनाको अवस्था के छ भनेर यो अध्ययनले पत्ता लगाउन सहयोग गर्छ,’ उनले भने।
ढलमा कोरोना भाइरस देखिनु संक्रमण समुदाय स्तरमा अघि बढेको हो। सरकारले अझै समुदाय स्तरमा कोरोनाको संक्रमण नभएको दाबी गर्दै आइरहेका बेला नयाँ अध्ययनले काठमाडौं उपत्यकामै समुदाय स्तरमा फैलिएको पुष्टि गरेको छ।
विज्ञहरुले अब सरकारले तत्काल उपत्यकाका विभिन्न क्षेत्रमा पुलिङ विधिबाट पीसीआर टेष्ट गर्न आवश्यक छ। पुलिङ विधि भनेको कुनै क्षेत्र तीन-चार सय व्यक्तिको स्वाब कलेक्सन गर्ने र त्यसलाई घोलेर पीसीआर परीक्षण गर्ने हो। उक्त स्वाबको रिपोर्ट नेगेटिभ आए त्यो क्षेत्र सुरक्षित हुन्छ र पोजेटिभ आए ती सबैको छुट्टाछुट्टै पुन: पीसीआर गरेर कसलाई पोजेटिभ छ भन्ने पत्ता लगाउनु पर्ने हुन्छ। यसले छोटो समयमा ठूलो संख्यामा कोरोनाका पीसीआर विधिबाट परीक्षण गर्न सकिन्छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा लकडाउन लगभग खेल सरह भएको र सामाजिक दूरी समेत कायम नभई भीडभाड हुने भएकाले तत्काल त्यसलाई कडाइका साथ लागू नगरे संक्रमण भयाभह हुने विज्ञहरुको भनाइ छ।
पछिल्लो समय उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्नेमा समेत त्यत्ति रोकतोक छैन। बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्ने भनिए पनि लागू हुन सकेको छैन।