तपाईंको जीवन हुनसक्छ अर्कोको सपनाको जीवन

दुख कष्टहरु आइरहन्छन, घाउचोटहरु लागिरहन्छन, ठेस र ठक्करहरु लागिरहन्छन, कहिले भावनाहरु दुख्ने गर्छन त कहिले माया प्रेमको बिश्वासघातले जीवन अर्थहिन जस्तै बनाइदिन्छन र पनि झेल्नैपर्छ जीवन । दुख पिडाहरुले अझ बलियो बनेर अगाडि बढ्ने साहस दिन्छ, भनिन्छ जीवनमा जे हुन्छ राम्रैका लागि हुन्छ, सफल व्यक्तिहरु हरेक चुनौतिमा अवसर देख्छन भने असफल व्यक्तिहरु हरेक अवसरमा चुनौती देख्छन ।


-डा. सुजाता पन्त

बिहानै गाउको  चिया पसलमा केही मान्छेहरुको जमातको बिचमा केहि प्रश्न र उत्तरहरु सुनिन्छन । ए काका थाहा पाउनुभयो पल्लो गाउँकी कान्छी मायाको जवान छोरी त झुण्डेर मरिछे नि शहरमा । अर्को टेबुलमा एक बुढा बा भन्छन ” खै कुन चै सँग के के लसपस थियो, चोचोमोचो थियो रे मुख  देखाउन लाज हुने काम के के गरेकी थिइ अब इज्जत जोगाउन आत्महत्या नगरेर के गरोस त बिचरीले ” अर्का एक भर्खरका दाइले थप्छन “काका  त्यस्तो हैन बिचरा त्यो बैनी शहरमा पढ्न बसेकी एउटा फाइनान्समा काम गर्थी अनि मास्टर पढ्थी विचरीको  काम ठप्पै भएको तीन महिना भएछ घरभेटिले दिनानुदिन भाडा मागिराको रैछन  सायद त्यसकै तनाव र छटपटिको कारण आफ्नै कोठामा झुण्डेर मरी । गाउँमा बा आमाको पनि निकै दयनिय अवस्था छ सायद समस्या समाधानको उपाय केही देखिन र आत्महत्याको बाटो रोजी ।”

यो त एउटा प्रतिनिधि घटना मात्रै हो अचेल हरेक दिन कैयौ समाचारहरु आइरहन्छन कतै झुण्डेर कति बिष सेवन गरेर त कतै डुबेर कैयौ मानिसहरु अकालमै ज्यान गुमाइरहेका छन । यो एकदमै भयाभह स्थिती आइसकेको छ । झन् केही हप्ता देखि आत्महत्याको फेसबुक लाइभको गलत र भयावह संकेत देखिन थालेको छ ।
म पेसाले एउटा डाक्टर सरकारी अस्पतालमा काम गर्ने डाक्टर । एउटा बिरामिलाई रोगबाट निको पार्न अनि एउटा ज्यान बचाउन आफ्नो भोक निन्द्रा घर परिवार समय सबै सबै कुरा समर्पण गर्ने मान्छे मानव एउटा जीवन बाच्नु र बचाउनुको मुल्य सायद हामी चिकित्सक स्वास्थ्यकर्मी बाहेक अरुलाई कमै थाहा होला ।

अझ यो महामारिको चपेटामा हरेक चुनौतिहरुलाइ स्विकार्दै आफ्नै ज्यानको बाजि राखेर मानवजीवन बचाउनकैलागि लागीपर्ने हामी स्वास्थ्यकर्मी। हाम्रो लागि सबैभन्दा बिडम्बना हो यो मानिसले दिनदिनै यसरी ज्यान गुमाइरहनु । पहिला बिहानी सबेरै ड्युटिमा निस्किदा आज मेरो सेवा लिनको लागि आउने सबैलाइ सकेसम्म धेरै सन्चो बनाएर पठाउन सकियोस सबैको घाउमा मलम लगाएर पठाउन सकियोस यहि कामना गर्दै निस्किन्थे अचेल अर्को पनि कामना गरेर निस्किन थालेको छु आज कुनै मृत शरिर देख्न नपरोस त्यसमाथि पनि ड्युटी छिर्नेबित्तिकै पुलिस हल्दारको मुचुल्का हातमा नपरोस । कुनै बिरामी र आफन्तको हातबाट कुटाई खान नपरोस् । हामीलाई पनि आफ्नो बिरामी मरोस भन्ने त काँहा हुन्छ र ? आम मान्छेको सोचाई र विश्वास हुन्छ डाक्टरकोमा पुगेपछि बिरामी मर्नु हुन्न बिरामी नमर्ने ग्यारेन्टी खोजेर मान्छेहरु आउछन जुन असम्भव र प्रकृतिलाई नै चुनौती हुनपुग्छ ।

यदाकदा बिरामी मर्छन कतिपय कम्पिलेकेसन देखा पर्छ । मल्टी अर्ग्यानिक फेलर केस पनि आउछ तसर्थ बोल्दाबोल्दैको बिरामीले दुखद मृत्यु बरण गर्न पुग्छन र सो अपगाल डाक्टरको थाप्लोमा पर्छ । अनि कुटिने धम्कयाउने र हुलहुज्जत गर्ने, मारेको भनेर बार्गेनिंग गर्ने पैसा असुल्ने धन्दा समेत हुन पुग्छ यस्तोबेला स्वयं डाक्टरले पनि आत्महत्या गर्नुपर्ने, आफ्नो पेशा प्रति नै वितृष्णा पाल्नुपर्ने स्थिति हुन जान्छ । मान्छे बाध्यताले अत्यन्त निराश भएर आत्महत्याको दुखद यात्रा रोज्छ । कहिलेकाँही स्टाफले आत्महत्याको केश छ डाक्टार साब टाढाबाट ल्याएको लास छिट्टै उठाउन लाउनु पर्छ आफन्तहरु रातभरी पानी झरिमा रुझेर मृत शरिर कुरेर बसेका छन भनेको सुन्दा आफ्नै मुटु चुडिने गर्छ । हंशले ठाउँ छोड्ने गर्छ । ती कुराहरु सुन्नै नपरोस जस्तो लाग्छ अचेल। बिडम्बना हरेक दिन  जे नहोस भन्यो त्यही भैदिन्छ ।

१० बर्षको बच्चा देखि ८०  बर्षको वृद्दसम्मको  घाटिमा पासोको डाम भेटिन्छ आफन्तहरुको रोदन रुवाबासी  अनि पेसाले  त्यो मृत शरिरको पोस्टमार्टम गर्नै पर्ने मेरो जिम्मेवारी  अझ त्यो भन्दा पहिलो मेरो  जिम्मेवारी  त मानव जीवन बचाउनु हो  शारिरिक मात्रै हैन मानसिक रोगको पनि समयमै पहिचान र उपचार गर्न नसकेर नै म दिनानुदिन ३,४ वटा मृत शरिरको शव परिक्षण गर्न बिबस छु अचेल। समयसमयमा आफैप्रति आत्मग्लानी महसुस हुन्छ आखिर हामी शारिरिक रोगको उपचार जति सजिलै गर्न सक्छौ मानसिक रोगको किन गर्न गर्न सकिरहेका छैनौ? किन हामीले एक्दमै धेरै आदर गर्ने सेलेब्रेटिहरुको पनि आत्महत्याका समाचार सुन्न बाध्य छौ हामी ?

जो सग 3P अर्थात पैसा, पावर र प्रेस्टिज सबै छ तर पनि ऊ आफैले आफिलाई सिध्याउन उद्दत छ आखिर केको कमि छ र मान्छे आत्महत्या गर्न बाध्य छ? यो गम्भीर भएर सोच्ने र राज्यले आफ्नो ध्यान खिच्ने विषय हो ।
कुनै दिन जस्ले तपाइलाई कम्जोर हुनुहुन्न जीवन यस्तै हो झेल्नुपर्छ  भनेर सिकाउथ्यो उस्कै आत्महत्याको समाचार सुन्दा तपाईंको मनमा कति उथल्पुथल हुन्छ होला? कल्पना गर्न नसक्ने अकल्पनीय घटना र हृदय विदारक तस्बिरले मन बेचैन गराउछ ।

डिप्रेसन अर्थान मानसिक तनाव अचेल हामी सबैले एकदमै धेरै प्रयोग गर्दै आइरहेको शब्द । कुनै दिन मेडिकल बिद्द्यार्थी हुदा स्वास्थ्यको परिभाषा खुबी रटेर आएको थिए ” health is complete physical mental and social well being and not merely absence of any diseases” अर्थात स्वस्थ हुनु भनेको  कुनै रोगबिना बाच्नु मात्रै नभै शारिरिक, मानसिक र सामाजिक सबै पक्षबाट राम्रो सबल र सक्षम हुनु हो। हामीले शारिरिक अवस्थालाइ जति ख्याल गरेका छौ के मानसिक र  सामाजिक पक्षलाइ नि त्यति नै ख्याल गरेका छौ ? के हामी हरेक पल डर त्रास र तनाब भित्रको जीवन बाँचेर आफूलाई बाहिर खुसि भएजस्तो गरि कृतिम वनावटी हाँसो देखाएर त जीवन गुजारा गर्न बाध्य छैनौ ?  

कतै हामी पिडा दबाएर हाँसेका र बाँचेका त छैनौँ ? हरेक मानिस बाच्नको लागि समाज चाहिन्छ के हामी आफ्नो सामाजिक जीवनबाट सन्तुष्ट  छौ ? सधै इज्जत र प्रतिष्ठा अनि अरुले के सोच्लान भन्ने त्रासभित्र आफू र आफ्नो महत्वलाइ बिर्सेका त छैनौ ? के हामी आफ्नो जीवनसग पुर्ण रुपमा सन्तुष्ट खुसि छौ ? जीवनको  बितेका दिनहरु सम्झेर आत्मग्लानि या पश्चातप त भएको छैन ? हामी सबैलाइ भन्छौ  सकारात्मक सोच सब ठिक हुन्छ तर के मानिस हरेक परिस्थितिमा सकारत्मक मात्रै सोच्न सक्छ ? अरु मानसिक तनाबमा छटपटेको देख्दा हामी निशुल्क सल्लाह दिन खुब सिपालु छौ भोलि  त्यहि परिस्थिती आफनै जीवनमा आयो भने के हामी अरुलाइ भनेजस्तै सकारात्मक तरिकाले जिउन सक्छौ ? नकरात्मकताको कालो बादल च्यात्ने सकारात्मक उर्जा र इनर्जी हामीसँग छ ?

यी यावत प्रश्नहरु एकचोटि कतै म आफै त डिप्रेशनमा बाचिरहेको छैन? हामिलाइ अरुलाइ भन्दा पहिला आफुले आफुलाइ नै मुल्याङ्कन गरौ त एकचोटी । हुन सक्छ  तनाबका कारणहरु धेरै हुन सक्छन र व्यक्ती  व्यक्ती बिच फरक हुन सक्छ। जीवन शत प्रतिशत आफुले सोचेजस्तो कहिल्यै पनि हुन्न उतार चढाब आइ नै रहन्छन । उकाली ओराली भै रहन्छन । मानिसका इच्छा र आवश्यकता दुई फरक कुरा हुन न्युनतम  आवश्यकता प्राय सबैको  एउटै हुन्छ तर इच्छा फरक हुन सक्छन। बिहान बाटोमा  हेर्ने हो भने दुई थरिका मान्छे हरु दैडिरहेका हुन्छन धनि मान्छे हिजो बेलुकाको भात पचाउन सुगर प्रेसर नियन्त्रण गर्न दौडिरहेको हुन्छ भने गरिब मज्दुर बिहान र बेलुकाको चुलो बाल्नको लागि दौडिरहेको हुन्छ। कुनै पनि परिस्थिती भन्ने चिज सापेक्ष कुरा हो। कुनै पार्टीमा सबै चिटिक्क कोट पाइन्ट लाएका मान्छेहरुको बिचमा एउटा कच्याकुचुक्क परेको सर्ट आइरन नलगाइ गएको मान्छे पुगेछ र कोहिले सोधेछ सर तपाईंले आइरन किन नलगाको सर्ट त कच्याकुचुक्क छ त  ? हास्दै जवाफ आउँछ सर मैले आइरन नलाएर मेरो सर्ट कच्याकुचुक्क देखिएको हैन उहाहरुले आइरन लाएर चै यस्तो देखिएको हो ” त्यसैले प्रकृतिले सबैलाइ सबैकुरा दिएको छ कस्ले कति देखाउछ या भित्रै सिमित राख्छ दुई फरक पाटाहरु हुन ।

त्यसैले सबै भन्दा ठूलो कुरा त व्यक्ति आफै सचेत हुनु जरुरि छ तनाब व्यवस्थापनको लागि। जीवनको यात्रा अवश्य नै सजिलो छैन तर त्यसो भन्दैमा अप्ठयारा परिस्थितिहरुमा आत्महत्या मात्रै समाधान पक्कै हैन । समस्याको चांग भित्र चुकुल खोल्ने चाबी झुप्पोको अन्तिममा पनि त् भेटिने सम्भावना रहन्छ ।
भनिन्छ मानवजीवन प्रकृतिको सुन्दर उपहार हो मृत्यु एउटा शाश्वत सत्य हो समय परिस्थिति रोग या शोक जे मा भए पनि सबैले एकदिन धर्ती छोड्नु नै छ । दुख कष्टहरु आइरहन्छन घाउचोटहरु लागिरहन्छन ठेस र ठक्करहरु लागिरहन्छन कहिले भावनाहरु दुख्ने गर्छन त कहिले माया प्रेमको बिश्वाशघातले जीवन अर्थहिन जस्तै बनाइदिन्छन र पनि झेल्नैपर्छ जीवन । दुख पिडाहरुले अझ बलियो बनेर अगाडि बढ्ने साहस दिन्छ, भनिन्छ जीवनमा जे हुन्छ राम्रैका लागि हुन्छ, सफल व्यक्तिहरु हरेक चुनौतिमा अवसर देख्छन भने असफल व्यक्तिहरु हरेक अवसरमा चुनौती देख्छन ।

यी सबै सबै कुराहरु लेख्ने मान्छे स्वयम् पनि डिप्रेसनमा हुनसक्छ त्यसैले कुनै कुरालाइ पनि च्याप्पै समातेर सधैको लागि मेरै हो भनेर नबसौ समय गतिशील छ समयसगै धेरै धेरै कुराहरु परिवर्तनशील छन त्यसैले जीवन आफू भएर पहिला आफ्नै लागि बाच्न सिकौ तटस्थ भएर बाच्न सिकौ ता कि धेरै पिडामा पनि बिचलित नहोऔ र धेरै खुसिमा नि मातिने काम नगरौ कुनै कुरा स्थायी छैन जीवनमा  कोहि कसैलाइ पनि निश्चित रुपमा लिने काम नगरौ धेरै अपेक्षा पनि नराखौ । जीवनमा तितामिठा दुबै रसहरु हुन सक्छन सबैको आनन्द लिएर बाचौ । आखिर हामी अजम्बरि हैनौ यो धर्तीको केही दिनको पाहुना मात्रै हौ । कसैले नदेखे पनि मुल्याङ्कन नगरे पनि राम्रो काम गरौ जीवनको गुणस्तर बढाऔ त्यसपछि जीवनशैलीको गुणस्तर त  आफै बढिहाल्छ ।

डिप्रेसन सामान्य समस्या हैन दिन प्रतिदिन जटिल बन्दै जान सक्छ त्यसैले आफ्ना मन मिल्नेहरु सग शेयर गरौ र अरुले शेयर गर्दा पनि तटस्थ भएर सुन्ने बानी बसालौ, सल्लाह दिन हतार नगरौ। त्यो पनि सकिन्न भने विभिन्न अस्तपाल तथा स्वास्थ्य सस्थाहरुमा मानसिक रोग बिशेषज्ञहरू हुनुहुन्छ उँहाहरु सँग सल्लाह सुझाव र परामर्श लिउ एउटा अँध्यारो अध्याय जीवनको अन्त्य हैन। त्यहि अँध्यारोबाट सिकेका पाठहरुलाई बाकी दिनहरु उज्यालो बनाउनको लागि सदुपयोग गरौ। जानीनजानी कैयौ गल्तिहरु हुन सक्छन आफूले आफैलाइ माफ गर्न सिकौ, एउटै गल्ती नदोहोर्याउ र अरुलाइ पनि माफ गर्न सिकौ। हामी सबैले शान्तपुर्वक सद्भाव आपसी प्रेम र मेलमिलापमा जीवन  बिताउन सकौ। डिप्रेसनबाट आफू पनि बचौ र अरुलाइ पनि बचाऔ । तपाईंले आज बाँचिरहनु भएको जीवन कुनै अर्को मान्छेले देखेको सपनाको जीवन पनि त हुन सक्छ ।

-डाक्टर सुजाता पन्त