देशभर बाढीपहिरो, १२ को मृत्यु, ६ वेपत्ता

पुल डुबान : अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने पुल । तस्वीर : कृष्ण न्यौपाने/रासस

काठमाडौं, असार २६ : अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि १२ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन्। कयौं घाइते भएका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार कास्की, लमजुङ र म्याग्दीमा आएको बाढी र पहिरोमा परि १२ जनाको मृत्यु भएको हो। कास्कीको पोखरा महानगरपालिकामा पहिरोले सात जनाको मृत्यु भएको छ।

गएराति पोखरा १८ को गोठादीस्थित टंकबहादुर थापाको घर पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय टंकबहादुर थापा, उनकी पत्नी ४५ वर्षीया सोममाया, उनका नातिनातिनी ६ वर्षीय सुवान र ११ वर्षकी इसिका थापा छन्। अर्का एक बालकको सनाखत भएको छैन।

पहिरोमा परि आठ जना घाइते भएका छन्। घाइतेहरुको मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

त्यस्तै, पोखरा २५ हेमजामा आएको पहिरोमा परि ७० वर्षीय हिमकली अधिकारीको मृत्यु भएको छ। पोखराकै वडा नं. २६ जिरेलमा पहिरोमा परि दुर्गाबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

त्यस्तै, गएराति लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बेंसीशहर नगरपालिका ७ सातबिसेमा पहिरोमा परि ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २६ वर्षीया बिमाया तामाङ र छोरा ९ वर्षीय छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति ११ बजे घरमाथिबाट पहिरो आएको थियो। स्थानीय वासिन्दा र प्रहरीले उद्धारको प्रयास गरेपनि सफल हुन सकेन। बिमायाको हिजै राति तथा दीपक र छेवाङको शव आज बिहान फेला परेको छ।

यस्तै, म्याग्दीमा गएको पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। मालिका गाउँपालिका ७ दुलेमा गएको पहिरोमा परि सोमनाथ पौडेलको घर बगाउँदा दुई जनाको मृत्यु भएको छ। उनीहरुको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

म्याग्दीकै धवलागिरी गाउँपालिका ६ रिखामा गएको पहिरोमा परेर दुई परिवारका ६ जना बेपत्ता भएका हुन्। पहिरोले भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएको छ।