वर्षाले ५ सय मेगावाट विद्युत् उत्पादन बन्द, भारतबाट ल्याउने तयारी
काठमाडौं, असार २६ : अविरल वर्षाले खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको बताए। बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताए ।
‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं,’ घिसिङले भने, ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट भारतीय विद्युत आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ।’
उनले बन्द रहेका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए।
बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ। कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युत्गृह कतिवेला सञ्चालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले बताए।
प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन्। निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायतका विद्युतगृहको करिब २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ। भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुंडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ।