यातायात व्यवसायी महासंघको निर्णय सार्वजनिक सवारी नचलाउने
काठमाडौं, असार २६ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ।
महासंघको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले तत्काल सार्वजनिक सवारी साधन नचलाउने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
यसअघि बिहीबार सरकारले काठमाडौं उपत्यकासहित जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो। तर, महासंघले सरकार सार्वजनिक सवारी चलाउन वातावरण तयार गर्न उदाशीन देखिएकाले तत्काल सवारी नचलाउने निर्णय गरेको हो।
बैंकको ऋण किस्ताको पुर्नतालिकीकरण, ब्याजदरमा सहुलियत लगायतका माग सम्बोधन गर्न सरकार तयार नभएकाले सवारी नचलाउने निर्णयमा आफूहरु पुगेको महासचिव सिटौलाले जानकारी दिए। उनले सरकार आफूहरुका माग सम्बोधन गर्न तयार भएपछिमात्रै सवारी चलाउने वातावरण बन्ने बताए।
यस्तै, महासंघले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बीमाको ग्यारेन्टी सरकारले गर्नु पर्ने पनि माग गरेको छ।