पार्टीभित्रको आन्तरिक विवादमा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट सरकार विमुख हुँदैन : प्रधानमन्त्री

काठमाडौं, असार २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवादमा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न नमिल्ने बताएका छन्। 

शुक्रबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला कसैले पनि आन्तरिक विमतिमा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न नमिल्ने बताएका हुन्। 

‘यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन। मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन,’ उनले भनेका छन्, ‘त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ।’

प्रधानमन्त्री ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रणमा सरकारले सक्रियतापूर्वक काम गरिरहेको दाबी गरेका छन्।