अमिताभ र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । दुवैलाई शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।
७७ वर्षीय बच्चन आफैँले ट्विटमार्फत त्यस’bout जानकारी दिएका हुन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालका अधिकारीहरूलाई यस’bout सूचित गरिएको छ,’ उनले ट्विटमा लेखेका छन्, ‘परिवार र कर्मचारीको पनि परीक्षण गरिएको छ, रिपोर्ट आउन बाँकी छ । पछिल्ला १० दिनमा मसँग सम्पर्कमा आउनुभएका सबैले परीक्षण गराउनुहोला ।’

उनीहरूलाई संक्रमण पुष्टि हुनासाथ परिवारका सबै सदस्य र कर्मचारीलाई सेल्फ आइसोलेसनमा राखिएको ‘इकोनोमिक टाइम्स’ले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ । बच्चन बाबुछोरालाई कसरी कोरोना संक्रमण भयो भन्ने यकिन भएको छैन ।
अभिताभ पछिल्ला दिनमा सोनी टेलिभिजनबाट प्रसारण हुने ‘कौन बनेगा करोडपति’को १२औँ अडिसनको तयारीमा जुटेका थिए । महाराष्ट्र राज्य सरकारले कोरोना संक्रमणको जोखिम समूह मानिएका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर निस्केर कुनै काम गर्न अनुमति दिएको छैन । सोही कारण बच्चनले ‘कौन बनेगा करोडपति’को सुटिङ सुरु गर्न पाएका छैनन् ।

उनी रणवीर कपुर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदै छन् । यसअघि फिल्म ‘गुलाबो–सिताबो’मा देखिएका थिए । यस फिल्ममा उनको साथमा आयुष्मान खुराना मुख्य भूमिकामा छन् । फिल्म ‘गुलाबो–सिताबो’ डिजिटल प्लेटफर्म अमेजन प्राइममार्फत रिलिज भएको थियो ।
केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धन, महाराष्ट्रका पूर्वमुख्यमन्त्री देवेन्द्र फडनाभिस, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवलगायतले बच्चन बाबुछोराको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।