हिमालय एयरलाइन्सलाई पोस्दै सरकार, नेपाल एयरलाइन्सको भन्दा धेरै उडान र बढी भाडा लिने अनुमति

काठमाडौं, असार २९ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई बेवस्ता गर्दै सरकारले हिमालय एयरलाइन्सलाई पोस्ने गरी एकपछि अर्को निर्णय गरेको छ।

व्यवसायिक रुपमा निरन्तर ओरालो लागेको निगमलाई कोरोना महामारीका बेला पनि सरकारले थप प्रहार गर्दै निजी विमान कम्पनीलाई पोस्दै आएको देखिएको छ।

विभिन्न देशबाट नेपालीहरुलाई ल्याउन जारी राखिएको उद्दार उडानमा ६० प्रतिशत नेपाल एयरलाइन्स र बाँकी ४० प्रतिशत निजी विमान कम्पनीलाई उडान अनुमति दिने सरकारले जुन महिनाको पहिलो हप्ता निर्णय गरेको थियो।

तर, आफ्नै निर्णयलाई बेवास्ता गर्दै सरकारले नेपाल एयरलाइन्सलाई कमजोर बनाउने गरी यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सलाई सिधा लाभ हुने गरी उडान अनुमति दिएको छ।

सरकारले १५ देखि २२ जुलाईसम्म हुने उडानमा नेपाल एयरलाइन्सलाई ४० र निजी एयरलाइन्सहरुलाई ६० प्रतिशत उडान गर्ने अनुमति दिएको छ। त्यसमा पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई बराबरी उडानको अनुमति दिइएको छ।

‘सरकारले आफ्नै निर्णय विपरीत हिमालय एयरलाइन्सलाई पोस्नेगरी नेपाल एयरलाइन्सको उडान खोसेको छ,’ नेपाल वायु सेवा निगमका एक उच्च अधिकारीले  भने, ‘यो निर्णय सरकारले आफैँले बनाएको मापदण्ड विपरीत छ। यो विशुद्ध हिमालय एयरलाइन्सलाई पोस्ने गरी पर्यटन मन्त्री र निगमका समेत बोर्ड सदस्य रहेका मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको योजना अनुसार भएको हो।’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीइएमसी)ले साउदी, युएई, कतार, कुवेत, बहराइन  र मलेसियामा अलपत्र परेका नेपालीको उद्धार गर्न हिमालय एयरलाइन्सलाई पोस्ने गरी उडान तालिका सार्वजनिक गरेको छ। 

तालिका अनुसार एक सातामा विभिन्न मुलुकका लागि ४२ उडान तोकिएको छ।  जसमध्ये १६ उडान नेपाल एयरलाइन्सले पाएको छ भने हिमालय एयरलाइन्सलाई पनि सोही संख्यामा उडान अनुमति दिइएको छ। यस्तै, मालिन्दोले ४, एयर अरेबियाले २, फ्लाइ दुबईले २ र जजिराले २ उडान गर्ने गरी तालिका सार्वजनिक गरिएको छ। यो तालिका अनुसार नेपाल एयरलाइन्सको ६० प्रतिशत हिस्सा खोसेर ४० प्रतिशतमा झारिएको छ।

तर, सीसीएमसीका सदस्य समेत रहेका पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर घिमिरेले भने नेपाल एयरलाइन्सका पाइलटसहित उडान कर्मचारीलाई कोरोना संक्रमण भएकाले हिमालय एयरलाइन्सलाई फ्लाइट थपिएको दाबी गरेको छ। तर नेपाल एयरलाइन्सले भने आफूहरुसँग क्रु को समस्या नभएको बताएको छ।

‘एनएसीलाई ५० र निजीलाई ४० प्रतिशत उडान दिने भन्ने कुनै प्रिन्सिपल होइन। तर, अहिले एनएसीका क्रु टिमलाई कोरोना संक्रमण पोजेटिभ भएपछि जनशक्ति अभाव हुने देखिएकाले घटाएका हौँ,’ सीसीएमसीका सदस्य समेत रहेका पर्यटन मन्त्रालयका सह-सचिव लामिछानेले  भने, ‘जहाज मात्रै भएर पनि भएन, क्रु टिम पनि चाहियो। त्यसैले निजी एयरलाइन्सले बढी उडानको अनुमति पाएका हुन्।’

जनशक्ति अभावका कारण निजीलाई बढी उडान गर्न दिइएको तर्क गरेपनि एनएसीले भने उडानका लागि जनशक्ति अभाव नरहेको बताएको छ। ‘क्रु टिम नभएर उडान प्रभावित हुने स्थिति नेपाल एयरलाइन्सको छैन,’ नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले भनिन्, ‘तत्काल क्रु अभाव हुने अवस्था छैन।’

भाडा समेत हिमालयलाई बढी उठाउन अनुमति

सरकारले व्यवसायिक रुपमा ओरालो यात्रामा रहेको नेपाल एयरलाइन्सकै बराबरीमा उडान संख्या पाएको हिमालय एयरलाइन्सले भाडा समेत बढी असुल्न अनुमति दिएको छ।

साउदीको दमामबाट नेपाल एयरलाइन्सले काठमाडौंको उडानका लागि प्रतिव्यक्ति ४३० अमेरिकी डलर लिन पाउने अनुमति दिइएको छ। तर सोही रुटमा हिमालय एयरलाइन्सले भने ४६५ अमेरिकी डलर लिन पाउने अनुमति दिएको छ। 

प्रतियात्रु ३५ डलर बढी रकम असुल्न दिएर ठूलो कमिसनको खेल भएको मन्त्रालय स्रोतको दाबी छ। ‘नेपाल एयरलाइन्सको भन्दा अझ हिमालयको उडान सस्तो हुन्छ,’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तर अनुमति लिन कमिसनको खेल भएकाले नेपाल एयरलाइन्सको भन्दा एक जना यात्रुमा ३५ डलर बढी भाडा लिन अनुमति हिमालयलाई सरकारले नै दिएको छ।’

यस्तै, दुबईबाट काठमाडौं उडान भर्दा नेपाल एयरलाइन्सले प्रतिव्यक्ति ३६० अमेरिकी डलर भाडा लिने अनुमति पाएको छ भने हिमालय एयरलाइन्सले ३० डलर बढी अर्थात ३९० अमेरिकी डलर भाडा दिन पाउनेछ। सरकारको निर्णयले हिमालय एयरलाइन्सलाई उडान संख्या र भाडा दुवैमा सिधा लाभ हुनेछ। तर, सरकार भने उडान संख्या र भाडाको निर्णय कुनै एयरलाइन्सको मुख हेरेर नगरिएको दाबी गर्छ। 

‘हामीले एयरलाइन्सहरुलाई अप्रेटिङ कस्टमा घाटा नपर्ने गरी मूल्य तोकेर प्रस्ताव पेश गर्न भनेका थियौं। सोही अनुसार एयरलाइन्सले भाडादर पेश गरेका हुन्,’ उनले भने, ‘एनएसीको भन्दा हिमालयको बढी अप्रेटिङ कस्ट पर्ने होला। त्यसैले यस्तो देखिएको हुनसक्छ।’
 
हिमालयलाई पोस्ने सरकारको नीति !

प्रधानमन्त्री केपी शर्मा ओलीको विषेश संरक्षण रहेको यती समूहको लगानी रहेको हिमालय एयरलाइन्स पोस्ने काम सरकारले एकपछि अर्को गर्दै आएको छ।

नेपाल वायुसेवा निगमका उडान रद्द गर्दै विभिन्न ठाउँमा हिमालय एयरलाइन्सलाई बिजनेश दिने काम यसअघि पनि गरेको थियो। प्रधानमन्त्री ओली नै चीन भ्रमणमा नेपाल एयरलाइन्स छोडेर हिमालयको चार्टर्ड उडानबाट गएका थिए। जेठ ३२ देखि असार ११ गतेसम्मका उद्दार उडानमा स्वदेशी र विदेशी एयरलाइन्सले करिब ५० उडान गरेका थिए। 

त्यसमा निगमले १३ उडान गर्दा हिमालय एयरलाइन्सले २३ उडान गरेको थियो। जबकि सो समयअवधिमा १९ उडान गर्ने भनेको हिमालयको २३ उडान, २४ उडानको जिम्मा पाएको निगमले १३ मात्रै उडान भरेको थियो। निगमले उडान गर्ने तय भएका स्थानमा उडान रद्द गरेर हिमालयलाई अनुमति दिइएको थियो। -तीर्थराज बस्नेत/काठमाडौँ प्रेस