डब्लूएचओले कोरोना थप खराब र भयावह बन्दै जाने चेतावनी दियो
काठमाडौं, असार ३० : कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोभिड १९ का क्षेत्रमा विश्वका कयौं राष्ट्रहरुले प्रभावकारी कदम चाल्न नसकेको (डब्लूएचओ) ले यहि अवस्था रहे कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने चेतावनी दिएको हो ।
डब्लुएचओ महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका कयौ राष्ट्रका सरकारले कोभिड १९ का लागि प्रभावकारी कदम चाल्न नसकेको ठहर गर्दै भयावह स्थिति निम्तने चेतावनी दिए ।
कोभिड १९ को इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको अवस्थामा अमेरिकामा स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पवीचको तनाव बढ्दै गएका कारण पनि संक्रमण पनि बढ्दै गएको डब्ल्युएचओ को ठहर छ । तर स्वास्थ्य विज्ञले भने लकडाउन खुकुलो पार्नेसहितका काम अति चाँडो हुँदा मानिसको जीवन जोखिममा परेको बताईएको छ ।
जेनेभामा हिजो गरिएको पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा। टेडरोजले विश्वका नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको जानकारी दिए । खोप बनाउनका लागि अति तीव्र गतिमा काम भइरहेको तर त्यसका लागि समय लाग्ने उनले जानकारी दिए ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३५ लाख ३५ हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म ५ लाख ७५ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।