‘विकृतिमुक्त गोरखापत्र बनाउन लागेको थिएँ, मलाई नै पदमुक्त गरिदिए’
मलाई हटाउने निर्णय भयो भन्ने सुनेको छु। तर, अहिलेसम्म चिठ्ठी पाएको छैन। असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले मलाई पदमुक्त गर्ने निर्णय गरेको भन्ने बिहीबारमात्रै थाहा पाएँ।
तर, म यो दावाका साथ भन्न सक्छु कि पदमुक्त हुने किसिमका कुनै क्रियाकलाप मैले गोरखापत्रमा गरेको छैन। बरु संस्था बालियो बनाउन थुप्रै काम गरेको छु।
म जब गोरखापत्र प्रवेश गरेँ, त्यो दिनदेखि सार्वजनिक संस्थान बलियो बनाउनुपर्छ भनेर लागे। संस्था सबल बनाउन मेरो प्रयत्न रह्यो। गोरखापत्रलाई प्रविधिमैत्री बनाउन र गरिरहेको सुधारका काम देखिनसहने पनि थिए। दत्तचित्त भएर काम गर्दागर्दै एक्कासी सरकारले पदमुक्त गरेको भन्ने खबर पाएको छु।
म २० महिनाअघि गोरखापत्र जाँदाको अवस्था र अहिलेको अवस्था हेर्दा सबै कुरा पत्ता लाग्छ। म गोरखापत्र जाँदा पार्टी नजिकका भन्नेहरु (पार्टीका हुन् वा होइनन्) उनीहरु १० बजे अफिस छिरेर हाजिर गरेर बाहिरिन्थे।
तर, मैले गोरखापत्रमा कोही पार्टी कार्यकर्ता होइनन्, कर्मचारी हुन् भनेर थिति बसाउने काम गरे। बिहान १० बजे आएर हाजिर गरेर ११ बजे जाने परिपाटीको हामीले अन्त्य गर्यौं। मेरै सुझाव र सल्लाह अनुसार कार्यकारी अध्यक्षले त्यसलाई रोक्नु भयो। हामी गोरखापत्र जाँदा अफिस गनाउँथ्यो। अहिले सफा भएको छ। काम गर्ने वातावरण बनेको छ।
कोहलपुर र विराटनगरबाट पत्रिका निकाल्न थाल्यौं। अफिसलाई प्रणालीमा सञ्चालन गर्न थालियो। निर्णय प्रक्रिया पारदर्शी बनाइएको थियो। त्यही नपचेको हुनसक्छ। मैले लेखा प्रणाली, विज्ञापन, मानव संशाधन र न्यूजका लागि छुट्टाछुट्टै सफ्टवेयर प्रणाली विकास गरेर साउन १ देखि कार्यान्वयन हुने व्यवस्था मिलाएको थिए। त्यसपछि सबै कुरा पारदर्शी हुन्थ्यो।
पार्टी र मन्त्री नजिक भन्नेहरुले पनि काम गर्नै पर्ने बाध्यात्मक अवस्था बन्थ्यो। किनकि हाजिर सफ्टवेयरमा देखिन्थ्यो र उसको हिसाब समय अनुसार स्वतः निर्धारण हुन्थ्यो। विज्ञापनदेखि लेखा प्रणालीसम्म चुस्त र पारदर्शी हुन्थ्यो। त्यसले गोरखापत्रभित्रको विकृति अन्त्य गर्थ्यो। वितरण प्रणालीलाई पनि प्रविधिसँग जोडेर चुस्त बनाइएको थियो। वितरण प्रणालीमा हुने विकृति रोक्ने काम गरेको थिएँ।
यतिमात्रै होइन, हामीले केन्द्रका मानिसलाई जनकपुर, बुटवल, हेटौँडा र पोखरा पठाउने निर्णय गरेका थियौं। त्यो पनि निश्चित टार्गेट दिएर। सम्बन्धित ठाउँमा गएका व्यक्तिले निश्चित अवधिमा २५ प्रतिशत व्यापार बढाउनुपर्ने टार्गेट दिएका थियौं। त्यो सूचीमा पार्टी र मन्त्री निकट भन्नेहरु पनि थिए। त्यो सूचीमा विष्णु खनाल (जो पार्टी निकट हुँ भन्छन्) उनलाई पनि सरुवा गरिएको थियो। त्यो सरुवा रोक्न भएका चलखेल पनि मलाई हटाउने कारण हुनसक्छ। युनियनले राजनीति होइन, काम गर्नुपर्छ। सार्वजनिक संस्थान सुधार गर्नुपर्छ भनेको हुँ।
यस्तै, म जाँदा एक मेट्रिक टन कागज एक लाख २२ हजारसम्म हालेर किन्ने गरिएको थियो । पछि ८१ हजारमा किन्न थाल्यौं। कागज खरिदमा कमिसन खानेहरुको चित्त नबुझेको हुनुपर्छ। अब चाँडै एक हजार मेट्रिक टन कागज र केही कन्स्ट्रक्सनका कामको टेन्डर हुँदै थियो। म त्यहाँ रहिरहँदा चलखेल गर्न पाइँदैन भनेर केहीले पदमुक्त गर्न लविङ गरेका पनि हुनसक्छन्।
तर, मलाई सल्लाहकारको भूमिका निर्वाह नगरेको भनिएको छ। मलाई कुरा राख्न दिइएन, स्पष्टिकरण पनि सोधिएन। एकैपटक पदमुक्त गरियो भनेर थाहा भयो। मलाई हटाउन सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडा लाग्नुभयो। संस्था सुधार्न भनेर कम्मर कसेर लागेको व्यक्तिलाई विद्वान अर्थमन्त्रीले किन हटाउन लाग्नुभयो, त्यो उहाँले नै जान्ने कुरा हो।
तर, कुरा यत्ति हो मलाई अन्याय भएको छ। गोरखापत्र सार्वजनिक संस्थान हो। ११४ वर्षको इतिहास छ। यत्रो लामो इतिहास बोकेको संस्थालाई सबल बनाउन खोज्नु मेरो गल्ती हो? के यो पाप हो? मसँग भएको व्यवस्थापनको ज्ञान गोरखापत्रमा लगाएको हुँ। बिनागल्ती काम गर्दा गर्दै पदमुक्त गरिन्छ भने मैले न्याय खोज्नुपर्छ। सायद सोमबार मलाई पदमुक्तको चिठी हात पर्छ। त्यसपछि म न्यायका लागि अदालत जान्छु। अहिले कानून व्यवसायीहरुसँग छलफलमा छु। काठमाडौँ प्रेस