पृथ्वी राजमार्ग खुल्न अझै दुई दिन लाग्ने
चितवन, साउन ८ : बाढीले भत्काएको पृथ्वी राजमार्गअन्तर्गत मौवा खोलाको पुलको ठाउँमा वैकल्पिक व्यवस्था गरेर यातायात सञ्चालन गर्न दुई दिन लाग्ने जनाएको छ।
अविरल वर्षासँर्ग आएको बाढीले साउन ५ गते चितवन र धादिङ जोड्ने मौवा खोलको पुलको एकरितको भाग भत्किएको थियो। पुल भत्किँदा चार दिनदेखि पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ।
डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार मौवाखोलामा बुधबार बिहानदेखि खोला मूलधारमा पठाएर जालीको पर्खाल लगाउन थालिएको छ। विङवाल अर्थात पखेटे पर्खाल लगाउने काम राति अबेरसम्म गरिएको थियो। दिनभर ४२ जना मजदुरले पर्खाल लगाउने काम गरेका थिए।
बुधबार दिउसो नेपाली सेनाको टोली पनि खटिएउको थियो। बिहीबार बिहानैदेखि काम सुरु भएको इन्जिनियर अधिकारीले बताए।
नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर पर्खाल लगाउने काम भइरहेको छ। दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ। ‘थप पानीले समस्या नवनाएमा शुक्रबार दिउँसोसम्ममा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउँछौँ,’ उनले भने।
यो सडकखण्डको मुग्लिनबाट नौबिसेसम्म दुई सयभन्दा बढी पहिरा खसेका थिए। ती पहिरो पन्छाउने र मर्मतसम्भार गर्ने काम तीव्र गतिमा भइरहेको उनले बताए। राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग भएकाले सबैको ध्यान, चासो र सहयोग जुटेकै कारण कामले तीव्रता पाएको छ।
धेरै ठाउँमा एकतर्फी सडक खुलाइएको छ। केही ठाउँमा मालबाहक ट्रक अव्यवस्थित ढङ्गले पार्किङ हुँदा काममा अप्ठ्यारो भएको उनको भनाइ छ।
त्यस्तै, नारायणग–मुग्लिन सडकखण्डको चारकिलो र १६ किलोमा सडक एकतर्फी सञ्चालनमा आएको छ। सडक विभागले हालका लागि राजधानी काठमाडौँ जान त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ। धेरै दिनसम्म राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक र मालबाहक सवारी प्रभावित बनेका छन्।