भारतले धौलीगङ्गाको बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा जोखिम


बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । धौलीगङ्गा जलविद्युत आयोजनाका अनुसार उक्त परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि साउन १६ गते बेलुकी ६ः४५ बजेसम्म खोलिने छ ।

सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको जानकारी प्राप्त भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए । बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइहनेछ । त्यसैले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्यास गाउँपालिकाको धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

यस्तै बैतडीको सेरादेखि कुस्मतघाटसम्मका बासिन्दालाई नदी छेउछाउमा नजान अनुरोध गरिएको छ । दार्चुला र बैतडीकासाथै डडेल्धुरा र कञ्चनपुरका महाकाली नदी किनारका बासिन्दालाई बहाव र सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान तथा सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेका छन् । विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा १५८ घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

भारतले आफ्नो धौलिगंगा नदीमा दुई सय ८० मेगावाट विद्युत उत्पादन गरिरहेको छ । धौलीगङ्गाको बाँध खोल्नु अघि भारतीय प्रशासनले नेपाली पक्षलाई पूर्वसूचना दिनुुपर्ने हुन्छ । यसरी जानकारी पाएपछि मात्र सतर्कता अपनाउन सजिलो हुन्छ । सोही सूचनाका अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाँध खेल्ने’bout जानकारी गराउँदै आएको छ ।

यसअघि गत असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका ७ बजेसम्म धौलीगंगाको बाँध खोलिएको थियो ।