ओलीकै सक्रियतामा एमाले दर्ता भयो : प्रचण्ड

काठमाडाैं, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको बैठक चलिरहेको अवस्थामा प्रधानमन्त्री ओलीकै पहलमा एमाले दर्ता भएको बताएका हुन्। नेकपा एमाले दर्ता हुँदा पार्टीमा अर्को संकट कायम भएको प्रचण्डको भनाइ छ। 

‘पार्टीको सचिवालय बैठक चलिरहेको अवस्थामा अर्का अध्यक्षको संलग्नतामा नेकपा एमाले दर्ता भएको छ। यसले अर्को संकट निम्त्याएको छ,’ प्रचण्डले भने।

उनले  अध्यक्ष ओली पार्टीलाई एकताबद्ध बनाउने तर्फ भन्दा पनि आफ्नो समर्थनमा कार्यकर्तालाई उचाल्ने काम गरेको भन्दै आपत्ति समेत जनाए। ‘पार्टीलाई एकताबद्ध बनाएर कसरी लाने भन्ने विषयमा हामीले छलफल गर्दैछौँ। तर देशभर जुलुस भएको छ, यो गलत छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले एकतालाई कमजोर पार्ने काम कोहीबाट पनि हुन नहुने बताए। पार्टीलाई व्यक्तिगत निर्णयका आधारमा नभई सामूहिक निर्णयबाट चलाउनुपर्ने उनको धारणा छ। – काठमाडौँ प्रेस