पूर्वडिआइजी कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

काठमाडौँ। सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायब महानिरीक्षण (डिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी भएको सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ।

पूर्वडिआइजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाए पनि कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।

पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदनको अब तीन जना न्यायाधीशबाट सुनुवाइ हुनेछ।

पुनरावलोकनको अनुमति पाएमा उक्त मुद्दाको सुनवाइ सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट हुनेछ। संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ।