बाढी, पहिरो र चट्याङको कहरः तीन महिनामा १८१ जनाले ज्यान गुमाए


काठमाडौँ। बाढी, पहिरो र चट्याङ नेपालका लागि कहर बनेको छ। पछिल्लो समय बाढी, पहिरो र चट्याङबाट ठूलो जनधनको क्षति भएको छ। वैशाखयता तीन महिनामा यसबाट १८१ जनाले ज्यान गुमाएका छन्। ५१ जना अझै वपत्ता छन्।

विपदमा परी २७८ जना घाइते भएका छन्। सबैभन्दा बढी पहिराले क्षति गरेको छ। पहिराका कारण १२८ जनाले ज्यान गुमाए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार पहिरामा परी ४४ जनाबेपत्ता तथा ११४ घाइते छन्। यस्तै बाढीले ६ जनाको मृत्यु भएको छ भने ७ बेपत्ता तथा तीन घाइते छन्। सो अवधिमा चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ भने १६१ घाइते भए।

मनसुन शुरु भए पछि जेठ ३१ गते यता पहिराले धेरैको ज्यान गयो। वपत्ता ५१ मध्ये ४४ जना पहिरामै पुरिएको पोखरेलले बताए। यस्तै चट्याङबाट ४२ जना घाइते भए। पर्वत, पाल्पा, बझाङ, जाजरकोट, कास्की, सिन्धुपाल्चोक, गुल्मी, लमजुङ र म्याग्दीमा बढी क्षति भयो। असार २५ गतेदेखि २९ सम्म तथा साउन ४ गतेदेखि ६ सम्म अत्यधिक वर्षा भएको थियो।