सोमबारदेखि मौसम पुनः सक्रिय हुने


काठमाडौँ। आगामी सोमबारदेखि मौसम पुनः सक्रिय हुने भएको छ। वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझदेखि मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने मौसमविद् गङ्गा नगरकोटीले बताए। यस वर्ष नेपालमा गत जेठ ३० गते रातिदेखि मनसुन सक्रिय भएको थियो।

त्यसयता बाढी पहिरोबाट जनधनको क्षति भएको छ। असार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा अधिकांश भेगमा अत्यधिक वर्षा भएको थियो। साउन ४ देखि ६ गतेसम्म पुनः न्यूनचापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो। नदीमा पानीको बहाव ह्वात्तै बढयो। अकस्मात खसेको पहिरोले धेरै मानिसको ज्यान लियो।

सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको छ। न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सोमबार रातिदेखि सक्रिय हुने मनसुन केही दिन रहने बताइएको छ। अत्यधिक वर्षा हुने सम्भावना छ।

नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने छ। जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएको छ। भूगर्वविद् शिव बाँस्कोटा पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा पहिरो खस्ने तथा नदीमा एक्कासी पानीको बहाव बढ्ने बताउँछन्। मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङका कारण १४१ जनाको मृत्यु भइसकेको छ।