सुनिलबहादुर थापासहित राप्रपा त्यागेका ११ केन्द्रीय सदस्य मंगलबार कांग्रेस प्रवेश गर्दै

काठमाडौं, साउन ११ : पार्टी परित्याग गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री सुनिलबहादुर थापासहित ११ केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।

आइतबार दिउँसो बसेको कांग्रेसको आन्तरिक बैठकले थापासहितका राप्रपाका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने निर्णय गरेको हो। साउन १३ गते मंगलबार विषेश कार्यक्रमसहित उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिने कार्यक्रम तय भएको छ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिल लामो समय सयुक्त राष्ट्र संघका काम गरेर एक दशक अघि मात्रै राजनीतिमा आएका हुन्। उनले विगत केही वर्षदेखि राप्रपाको राजनीतिक लाइन र विचारप्रति असहमति राख्दै आएका थिए।

कांग्रेस स्रोतका अनुसार थापालाई सहमहामन्त्रीसहित केही केन्द्रीय सदस्य दिने सहमति भएको छ। त्यस्तै राप्रपाबाट कांग्रेस प्रवेश गर्ने सबै नेता तथा कार्यकर्तालाई ७७ वटै जिल्लामा समायोजना समिति बनाएरै मिलाउने सहमति भएको छ।

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले मंगलबार पार्टी प्रवेशको कार्यक्रम तय भएको बताए । ‘मंगलबार सुनिल थापा सहितका राप्रापको एटा ठूलो समूह कांग्रेस प्रवेश गर्ने कार्यक्रम तय भएको छ।’ श्रेष्ठले भने, ‘ उनले बुबा (सुर्यबहादुर थापा)ले राजनीति सुरु गरेकै पार्टीमा प्रवेश गर्ने इच्छा देखाउनुभएको छ। उनका त्यस्ता ठूला डिमान्ड छैनन्। केन्द्रीय सदस्य त भइनै हाल्यो। सहमहामन्त्रीको कुरामा पनि हामी सकारात्मक नै छौं। उहाँसँगै आउने साथीहरुको व्यवस्थापन पनि सहजै गर्ने छौं।’

मंगलबार थापा कांग्रेस प्रवेश गरेलगत्तै उनको गृह जिल्ला धनकुटामा पनि पार्टी प्रवेश कार्यक्रम हुने भएको छ। धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईका अनुसार केन्द्रको पार्टी प्रवेश कार्यक्रम लगत्तै जिल्लामा कार्यक्रमको आयोजना गरिएको छ।

‘यहाँको कार्यक्रमको मिति त तय भइसकेको छैन। तर उहाँ (थापा) हरु प्रवेश गरेपछि यहाँ वृहत कार्यक्रम हुनेछ’, उनले भने। धनकुटाबाट ५ हजारको हाराहारीमा नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्ने अनुमान छ।

यस्तै थापासँगै भोजपुरका राप्रपा कार्यकर्तासमेत कांग्रेस प्रवेश गर्ने भएको छ। भोजपुर कांग्रेसका सचिव कैलाशकुमार आलेले राप्रपाका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गर्ने तयारी गरेको बताए।’केन्द्रको कार्यक्रमपछि यहाँ पनि पार्टी प्रवेशको कार्यक्रम छ,’ आलेले भने।  

थापा राप्रपाले लिएको राजतन्त्र र संघियता विरोधी लाइनसँग असन्तुष्ट थिए। संस्थापक नेता सूर्यबहादुर थापा नेतृत्वको राप्रपाको एक समूहले विगतमा गणतन्त्रका पक्षमा निर्णय गरेको थियो। तर राप्रपाले राजतन्त्र र संघीयता विरोधी लाइन लिएपछि थापा असन्तुष्ट थिए।

उनले पार्टी नेतृत्व गणतान्त्रिक व्यवस्था स्वीकार गरेर सरकारहरूमा सहभागी हुने, संविधान उत्कृष्ट भएको प्रचारप्रसारमा सामेल भएको र अर्कातिर आमसहमतिको राजसंस्थासहितको प्रजातन्त्रको अति अमूर्त र असम्भव एजेन्डालाई पनि छोड्न नसकेको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन्।

थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले समेत राप्रपा परित्याग गरेका छन्।