नेकपाको स्थायी कमिटी बैठक नरोकिने, ओली अनुपस्थित भए प्रचण्डले अध्यक्षता गर्ने तयारी

काठमाडाैं, साउन १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल स्थायी कमिटी बैठक कुनै पनि हालतमा नरोक्ने निष्कर्षमा पुगेका छन्।

मंगलबार तय भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा  ओली अनुपस्थित भए  प्रचण्डले नै अध्यक्षता गरेर बैठक अघि बढाउने तयारी गरेका छन्। सोमबार खुमलटारमा अनौपचारिक छलफल गर्दै मंगलबारका लागि तय भएको बैठक कुनै पनि हालतमा नरोक्ने निर्णयमा पुगेको वरिष्ठ नेता झलनाथ खनालले बताए।

आवश्यक परे बहुमतबाटै निर्णयमा पुग्ने बैठककले निर्णय गरेको उनले जानकारी दिए।  ‘भोलिको बैठकमा पनि अध्यक्ष केपी ओली अनुपस्थित भएमा बैठक स्थगित नगर्ने निष्कर्षमा हामी पुगेका छौँ,’ खनालले भने।

भोलिको बैठकमा ओली अनुपस्थित भएको अवस्थामा आफूले नै बैठक सञ्चालन गर्ने तयारी प्रचण्डले गरेका छन्।

 ‘धेरै पटक बैठक स्थगित हुँदा मूल एजेण्डामा छलफल गर्न पाएका छैनौँ। अब बैठक कुनै हालतमा  रोकिनु हुँदैन ओलीजी अनुपस्थित भए भोलिको बैठक मेरै अध्यक्षतामा सम्पन्न हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए।

यसअघि पनि अध्यक्ष ओली अनुपस्थित हुँदा २० मिनेट बसेर बैठक स्थगित भएको थियो। असार १८ गते यता नेकपाको स्थायी कमिटी बैठक आठ पटक स्थगित भइसकेको छ। खुमलटारमा सोमबार भएको भेलामा वरिष्ठ नेता खनाल, नेपाल,  प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित थिए।