कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, संक्रमित हुने १८ हजार ७५२, मृत्यु हुनेको संख्या ४८
काठमाडौं, साउन १२ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए।
कोरोनाको संक्रमणबाट पर्साको वीरगञ्ज महानगरपालिका–१० का ६५ वर्षीय पुरूष, धनुषा सहिदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय पुरुष र बाराको फेटा गाउँपालिका-३ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए।
उनका अनुसार वीरगञ्जका ६५ वर्षीय भारतीय नागरिकको वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पताल र धनुषाका ३६ वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा साउन ११ गते मृत्यु भएको हो भने बाराको फेटा गाउँपालिका-३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
नेपालमा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ७५२ पुगेको छ भने अहिलेसम्म निको भएर १३ हजार ७५४ जना डिस्चार्ज भएका छन्।
प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै ६२६ जना कोरोनालाई जितेर घर फर्किएका छन्।