दुई अध्यक्षबीचको पदीय झगडाले जनतामाझ हामी मुख देखाउन लायक भएनौं

काठमाडाैं, साउन १३ : बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ‘बहुमत’ स्थायी कमिटी सदस्यको भेलामा नेतृत्वको आलोचना भएको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली इतर समूहको अनुपस्थितिमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमै बसेको बैठकमा उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्य भीम रावलले नेतृत्वको आलोचना गरेका हुन्।

 दुई अध्यक्षबीचको पदीय झगडाले जनतामाझ मुख देखाउन लायक नभएको भन्दै उनीहरुले नेतृत्वको आलोचना गरेका हुन्। बैठकमा उनीहरुले पदीय झगडामा हारजितका लागि आफूहरुको टाउको नगन्न आग्रह गरेका छन्। 

बैठकमा उपाध्यक्ष वामदेव गौतमले आफूले सारेको ६ बुँदे प्रस्तावले नै पार्टीको हित गर्ने तर्क गर्दै पदका लागि झगडा नगर्न आग्रह गरे। ‘अहिले भइरहेको मतभेद अन्त्यका लागि मैले अघि सारेको ६ बुँदे प्रस्तावनै ठीक छ। त्यसले सहमति कायम गर्छ। पदका लागि पार्टीमा अब धेरै झगडा नगरौँ,’ बैठकमा गौतमले भने। 

उनले बहुमतको खेल पार्टीमा अन्त्य हुनुपर्ने, अन्तरिम विधान र एकताको मर्म अनुसार चल्नुपर्ने धारणा व्यक्त गरेका थिए। ‘पदको झगडामा म सामेल छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउँका गन्ने काम हुनु भएन,’ बैठकमा उनले भनेको कुरा उद्धृत गर्दै गोकर्ण विष्टले भने।

गौतमले एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनु पर्ने प्रस्ताव अघि सारेका छन्। यस्तै, उनले पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन गर्न, राजनीतिक तथा संवैधानिक नियुक्ति गर्न पनि भनेका छन्।

बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा कसैलाई समर्थन गर्न नसकिने बताएका छन्। ‘ओली र प्रचण्डबीच हुने पदको झगडामा म सामेल छैन। उनीहरुको पदीय झगडाका लागि बहुमतको खेल सुरु गर्ने काम गलत छ भनेर मैले मेरो विचार राखेँ,’ रावलले भने।

यस्तै, बैठकमा स्थायी कमिटी सदस्य जनार्दन शर्माले महाधिवेशनबाटै सबै विवाद समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। ‘महाधिवेशनमा जाऔँ त्यहाँ जे-जे हुन्छ हुन्छ। यो झगडाको अन्त्य पनि त्यहीँबाट हुन्छ,’ उनले बैठकमा राखेको धारणा’bout भने।