कार्बाही प्रकरणमा नेता पौडेलको दोहोरो चरित्र

काठमाडौं । नेपाली कांग्रेसले केही प्रभावशाली नेतालाई पार्टीबाट निष्काशन गरेकोमा विरोध भैरहेको छ । नेता रामचन्द्र पौडेलले भने युवा नेता पुस्करनाथ ओझाको मात्रै नाम लिएर उनीमाथि कारबाही गरेको प्रति आपत्ति जनाएका छन्। तर उनकै जिल्लाका नेता गोबिन्दराज जोशीमाथि गरिएको कार्बाही’bout पौडेलले चासो दिएका छैनन् ।

तनहुँका दुबै नेता जोशी र पौडेल वीचको सम्बन्ध सधैं चिसो रहने गरेको छ । उनीहरु निर्वाचनका समयमा एकले अर्कालाई अवरोध गर्दै आएका देखिन्छन् । पौडेलले पार्टीको अनुशासन समितिको नेतृत्व र नियतमाथि प्रश्न उठाउँदै ओझालाई गरिएको कारबाहीको खुलेर विरोध गरे पनि अरुका हकमा उनी मौन देखिन्छन् । 

नेपाली कांग्रेसको अनुशासन समितिले ओझा र गोविन्दराज जोशीसहित ३२ नेतालाई गत चुनावमा पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै निष्कासन गरेको थियो।

बिहीबार बिहान आफ्नो फेसबुकमा प्रतिक्रिया दिँदै पौडेलले, ‘ सिटिङ्ग संसदको उम्मेदवारी खोसिएका कैलालीका पुस्कर ओझालाई स्पष्ट आधार र कारण बिना बागी उमेदवारसँग जोडी विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीबाट निस्कासनको कारबाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथी गम्भीर प्रश्न उठेको छ।’ उनले ओझाको मात्र पक्ष लिएर सभापति देउवासँग असन्तुष्टि पोखेको देखिन्छ । सभापति देउवाकी पत्नी आरजुलाई कैलालीमा निर्वाचनमा उम्मेदवार बनाउँदा त्यहाँका लोकप्रिय नेता ओझाको योगदान अवमूल्यन गरिएको भनी चर्को आलोचना भएको थियो ।