निर्मला हत्याकाण्ड : तत्कालिन एसपी बिष्टसहित ८ प्रहरीलाई जिल्ला अदालतको सफाइ

महेन्द्रनगर। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणको अनुसन्धानका क्रममा यातना दिएको र सार्वजनिक न्यायविरूद्धको कसुरमा आठ प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको छ। बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टसहित मुद्दा परेका आठै प्रहरीलाई सफाइ दिएको हो।

जिल्ला अदालतबाट सफाइ पाउनेमा बिस्टसहित सिआइबीका तत्कालिन प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी, अर्का डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकिन्द्रबहादुर खड्का, अर्का प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, अर्का सई रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद रहेका जिल्ला अदालतका श्रेष्तेदार यदुनाथ शर्माले जानकारी दिए। निर्मलाकी आमा दुर्गादेवी र दीलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रमाण नष्ट गरेको र दिलिपलाई यातना दिएको भन्दै आठैजना विरुद्ध जाहेरी दिएका थिए।

उक्त मुद्दा जिल्ला अदालत कञ्चनपुरमा २०७५ फागुन २२ मा दर्ता भएको थियो। आठै जनामाथि लागेको आरोप सावित नभएपछि जिल्ला अदालतले सफाइ दिएको हो। ‘निजलाई यातना दिएको नदेखिएको, रिपोर्टमा कुनै घाउचोट नदेखिएको, अदालतमा आउँदा पनि प्रहरीले यातना दिएन भन्ने आएको बयान र प्रमाण लुकाउने छिपाउने गरेको नदेखिएको भन्दै उनीहरूलाई सफाइ दिने फैसला भएको हो’ श्रेष्तेदार शर्माले भने। एसपी विष्टसहित आठै जनाले निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा पक्राउ परेका दीलिपसिंह बिष्टलाई यातना दिएको भन्दै मुद्दा दायर भएको थियो।

विसं २०७५ साउन १० गते साथीको घरमा पढ्न जाने भन्दै गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन्। उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो। निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई पक्राउ गरेको थियो। तर निर्मलाको भजाइनल स्वावको नमूनासँग बिष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।

निर्मला हत्याकाण्डमा प्रहरीको चरम लापरबाही देखिएको भन्दै कन्चनपुरलगायत देशभर आन्दोलन भएको थियो। आन्दोलनका क्रममा कञ्चनपुरमा शनि खुनाले ज्यान गुमाएका थिए। घटनाको छानबिन गर्न सरकार र प्रहरीले छुट्टा छुट्टै छानबिन समितिहरू बनाए पनि अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन। सबैजसो छानविन समितिले लापरवाही गरेको र प्रमाण नष्ट गरेको प्रतिवेदन दिएपछि एसपी बिष्टसहित ८ प्रहरीमाथि मुद्दा चलाइएको थियो।

दिलिप विष्टका दाजुले पनि प्रहरीले आफ्नो भाइलाई यातना दिएको भन्दै जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा अदालतमा मुद्दा परेको थियो। एसपी विष्ट साढे १० लाख, डिएसपी अंगुर जिसी ९ लाख, अर्का डिएसपी सेठी र प्रहरी निरीक्षक खड्का नौ नो लाख, प्रहरी निरीक्षक भट्ट ४ लाख, सई धामी ३ लाख ५० हजार, अर्का सई रामसिंह ३ लाख तथा प्रहरी जवान साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

निलम्बनको हदम्याद अधिकतम ६ महिना मात्रै भएपनि निलम्बनमा परेका ६ प्रहरीहरु सोही मुद्दाका कारण अहिलेसम्म सेवामा फर्केका छैनन्। उक्त मुद्दामा अदालतले धरौटी माग गरेपछि निलम्बनमा परेका उनीहरु सेवामा फर्कन पाएका थिएनन्। जिल्ला अदालतको यो फैसलापछि निलम्बनमा परेका प्रहरी अधिकारी सेवामा फर्कने बाटो खुला भएको छ।

एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भने भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी प्रहरी सेवाबाट हटाइएको थियो । अब साधारण तारेखमा रिहा भएका दिलिपसिंह बिष्टलाई पुनः पक्राउ गर्ने बाटो खुल्ला भएको छ।