कोरोना भाइरस नेपाल: कोभिड-१९ का कारण मृत्यु हुने ५२ नेपाली को हुन्?

नेपालमा बिहीवारसम्म ५२ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

नेपालमा हालसम्मको तथ्याङ्क विवरणले देखाए अनुसार हरेक ३७६ जना सङ्क्रमितमध्येमा एक जनाको मृत्यु भएको छ।

यो औसत विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र मृत्युको औसतभन्दा कम हो। विश्वमा सङ्क्रमितमध्ये झन्डै चार प्रतिशत मानिसहरूको मृत्यु भएको छ।

जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, “दक्षिण एशिया र विश्वका अन्य देशको तुलनामा नेपालमा कोरोनाभाइरसका कारणले ज्यान गुमाउनेको प्रतिशत निकै कम छ तर धेरै सङ्क्रिमतमा लक्षण नदेखिएका बेला ५२ जनाको मृत्यु धेरै हो।”

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, “सङ्क्रमितको मृत्यु हुने दर पहिलेको तुलनमा बढेको छ। यसले हामीलाई चिन्तित बनाएको छ।”

नेपालमा अहिलेसम्म कोभिड-१९ का कारण मृत्यु भएका ५२ जना विरामीको तथ्याङ्क केलाउँदा कस्तो तस्बिर देखिन्छ त? कस्ता कस्ता विरामीको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ?

मृत्यु हुनेमा धेरै पुरुष

कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु हुनेमा ८२ प्रतिशत पुरुष रहेका छन्।

जनस्वास्थ्यविद्हरू नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुरुषमा बढी देखिनु र मृत्यु हुनुलाई उनीहरूको कामकालागि घर बाहिर निस्कनु पर्ने बाध्यतासँग जोड्छन्।

नेपालमा कोरोनाभाइरसका कारण महिलाभन्दा पुरुषको बढी मृत्यु भएको छ. कुल मृत्यु हुनेमा ८२ प्रतिशतभन्दा बढी पुरुष.  .

कुन उमेर समूह खतरामा?

नेपालमा सबैभन्दा बढी ४० देखि ४९ वर्ष उमेरका व्यक्तिहरूले कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनु परेको देखिन्छ।

तर हालैका दिनमा वृद्ध उमेर समूहमा मानिसहरूको मृत्यु हुने क्रम बढेको छ।

समग्रमा कुल मृत्यु हुनेमध्ये लगभग ७० प्रतिशत ४० वर्ष उमेर कटेकाहरू छन्।

नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको उमेर. सबैभन्दा धेरै ४० देखि ४९ वर्ष उमेर समूहको व्यक्तिको मृत्यु भएको छ.  .

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका सहप्रवक्ता समिरकुमार अधिकारी भन्छन्, “हालसम्म देखिएका सङ्क्रमितहरुमा रोगसँग लड्न सक्ने क्षमता भएको ठानिएका युवाहरू नै धेरै छन्।”

“तर यो समुदायमा पुग्यो र रोगप्रतिरोधी क्षमता कम भएका ६० वर्ष माथिका र बालबालिकाको उमेर समूहमा पुग्यो भने मृत्युदर पनि नियन्त्रण बाहिर पनि जान सक्छ।”

पुरानो रोग भएका झन् खतरामा

मृत्यु हुनेमध्येमा झन्डै दुई तिहाइ व्यक्तिमा पुरानो रोग वा शारिरिक समस्या रहेको तथ्याङ्कले देखाउँछ।

लगभग एक तिहाइमा भने कोरोनाभाइरस हुनुअघि गम्भीर खालको स्वास्थ्य समस्या नरहेको देखिन्छ।

मृत्यु हुनेको सङ्क्रमण अगाडि स्वास्थ्य अवस्था. कुल मृत्युमध्ये अधिकांशको पहिलेदेखि स्वास्थ्य समस्या थियो.  .

पुरानो रोग वा समस्या भएकाहरूमा सबैभन्दा बढीमा श्वासप्रश्वाससम्बन्धी अर्थात् फोक्सोसम्बन्धी रोग रहेको देखिन्छ।

त्यस्तै मधुमेह, मिर्गौलासम्बन्धी समस्या र मुटुसम्बन्धी समस्या भएकाहरू पनि उल्लेख्य रहेका छन्।

कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएकाहरूमा पुरानो रोग वा समस्या. .  .

डा. पाण्डे कोरोनाभाइरसको सङ्क्रमण देखिएर मृत्यु भएकाहरू धेरैमा अन्य रोगहरू पनि रहेको बताउँछन्।

तर पछिल्ला दिनमा मृतकको सङ्ख्या पनि बढ्दै गएको र लक्षण देखिएका बिरामी पनि थपिँदै गएकाले चुनौती थपिएको उनको भनाइ छ।

पाण्डेले भने, “पछिल्ला तीन दिनमा सङ्क्रमित हुनेमध्ये एक तिहाइमा लक्षण देखिएका छन्। र अहिले देशभरि १५ जना आईसीयूमा छन्।”

कहाँ मृत्यु?

पछिल्ला दिनमा मृत्यु भएकाहरू सबैजसो अस्पतालमा उपचाररत रहेको तथ्याङ्कले देखाउँछ।

कुल मृतकमध्ये ४० जना अस्पतालमा, पाँच जना घरमा, चार जना अस्पताल लग्ने क्रममा बाटोमा वा बेवारिसे अवस्थामा र दुई जनाको क्वारन्टीनमा मृत्यु भएको छ।

कोरोनाभाइरसका कारण कहाँ मृत्यु. अधिकांश व्यक्तिहरूको अस्पतालमा मृत्यु भएको छ.  .

नेपालमा मृत्यु भएकाहरूमा एक जना भारतीय नागरिक र एक जना चिनियाँ नागरिक छन्।

कुन प्रदेश र जिल्लामा धेरै मृत्यु?

मृत्यु हुने ५० जनामध्ये सबैभन्दा बढी १४ जना प्रदेश नं २ का रहेका छन्।

त्यस्तै प्रदेश नं ५ का १० जना, वागमती प्रदेशका नौ जना, सुदूरपश्चिम प्रदेशका सात जना रहेका छन्।

कोरोनाभाइरस सङ्क्रमणले गण्डकी प्रदेशका पाँच जना र कर्णाली प्रदेशका चार जनाको मृत्यु भएको छ भने प्रदेश नं १ मा एक जनाको मृत्यु भएको छ।

जिल्लागत हिसाबले हेर्दा सबैभन्दा बढी प्रदेश नं २ को पर्सामा पाँच जनाको मृत्यु भएको छ।

त्यस्तै बारा र कैलालीमा ४-४ जनाको मृत्यु भएको छ भने गुल्मी र काठमाण्डूमा ३-३ जनाको मृत्यु भएको छ।

दुई-दुई जनाको मृत्यु भएका जिल्लाहरूमा सिन्धुपाल्चोक, बाँके, सुर्खेत, स्याङ्जा, चितवन, रौतहट र धनुषा रहेका छन्।

एक-एक जनाको मृत्यु भएका जिल्लाहरूमा ललितपुर, कपिलवस्तु, पाल्पा, दैलेख, दोलखा, डोल्पा, बाजुरा, अर्घाखाँची, दाङ, अछाम, म्याग्दी, गोर्खा, रुपन्देही, बाग्लुङ, सप्तरी, मोरङ र बझाङ रहेका छन्।

अब के गर्नु पर्छ?

मन्त्रायका सहप्रवक्ता अधिकारी नेपालमा हालसम्म सङ्क्रमण र मृत्युलाई अन्य देशको तुलनमा नियन्त्रणमा राख्न सकिएको बताउँछन्।

जनस्वास्थ्यविद् शरद वन्त विश्वका विभिन्न देशमा गम्भीर प्रकृतिको सङ्क्रमण देखिएर आईसीयूमा भर्ना भएकाहरू पनि निको भएर फर्किएका तर नेपालमा धेरैलाई लक्षण नै नदेखिँदै मृत्युको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय भएको बताउँछन्।

डा. वन्त भन्छन्, “यसले लक्षण देखिएकाहरूको रोग निवारण र उनीहरुको हेरचाहमा पुनर्विचार गर्नु पर्ने तर्फ सङ्केत गरेको छ।” बीबीसी