कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
काठमाडौं, साउन १६ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट ज्यान गुमाउने चारै जना पर्साको वीरगञ्ज महानगरपालिकाका रहेको प्रवक्ता गौतमले बताए। कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका–११ श्रीपुर ५६ वर्षीय पुरुष, वीरगञ्ज–१६ का ३५ वर्षीय पुरुष, वीरगञ्ज–२, छपकैयाका ६५ वर्षीय पुरुष र वीरगञ्ज–११ घर भई ललिपुरको थसिखेल–५ मा बस्ने ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
६५ वर्षीया महिलाको शुक्रबार बिहान ललिपुरको पाटन अस्पतालमा र बाँकी तीन जना पुरुषको गण्डक अस्थायी कोरोना अस्पताल, वीरगञ्जमा बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
यससँगै अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
साथै शुक्रवार विभिन्न जिल्लामा थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्।
यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,७७१ पुगेको छ।