पर्सामा सेना, चिकित्सक, थुनुवा र पत्रकारसहित ३४ जनालाई कोरोना संक्रमण

वीरगञ्ज, साउन २० : सेना, चिकित्सक र थुनुवासहित पर्सामा ३४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गएराति वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.मदन उपाध्यायले बताए। उनका अनुसार कोरोना संक्रमण देखिनेहरु १४ देखि ५६ वर्षसम्मका रहेका छन्। उनीहरुमध्ये २८ पुरूष र ६ जना महिला छन्।

त्यस्तै, संक्रमण देखिएकामध्ये तीन जना सैनिक जवान रहेका छन्। उनीहरु वीरगन्ज ब्यारेकमा कार्यरत छन्।

त्यस्तै, वीरगञ्ज वडा प्रहरी कार्यालयमा रहेका एक थुनुवामा पनि कोरोना देखिएको हो। उनी २० वर्षका छन्। वीरगञ्जका २२ वर्षीय एक पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

दुई जना चिकित्सकलाई पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु ब्योध्या अस्पताल र नेसनल मेडिकल कलेजमा कार्यरत रहेको डा.उपाध्यायले बताए।

कोरोना देखिनेहरुमा दुई युवक बाराका हुन्। अर्का एक युवक सर्लाहीका वासिन्दा रहेको अस्पतालले जनाएको छ। अन्य संक्रमित भने पर्साकै हुन्। धेरैजसो वीरगञ्जका रहेको डा.उपाध्यायले बताए।

संक्रमण देखिएकामध्ये पाँच जनाले पैसा तिरेर कोरोना परीक्षण गराएका थिए। उनीहरु कोरोना जाँच गराउने सूचिमा रहेका थिएनन्। उनीहरुमा कोरोना देखिएपछि समुदायमा पनि संक्रमण फैलिएको पुष्टि भएको चिकित्सकहरुको भनाइ छ।

योसँगै पर्सामा कोरोना भाइरस संक्रमितको संख्या ६ सय १४ पुगेको छ। पछिल्लो समय सबैभन्दा बढी कोरोना देखिएको जिल्ला पर्सा नै हो।