एकतोला सुनको मूल्य एकलाख एक हजार चारसय
काठमाडौँ, २१ साउन : कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ ।
मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हाजर ६०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार चारसय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख ९०० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य रु ६५ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २९५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागूगरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।(रासस)