बिहिवारदेखि फेरि जोर विजोर लागू हुने
काठमाडौं, २१ साउन : बिहिवारदेखि सरकारले निजी तथा सार्वजनिक सवारी साधनमा फेरि जोर विजोर प्रणाली शुरु गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको जानकारी दिएका छन् ।
उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्ला र काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।
भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो ।
कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए।