दुई हप्तामा काठमाडौं उपत्यकामा थपिए पाँच सय बढी कोरोना संक्रमित

काठमाडौं, साउन २२ : सरकारले देशव्यापी रुपमा गरेको लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा पछिल्लो दुई हप्तामा पाँच सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

लकडाउनको अवधिभर उपत्यकामा केवल ३ सय ८२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो। तर, लकडाउन खुलेपछि साउन ७ गते यता बिहीबारसम्ममा उपत्यकामा ५ सय १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीनवटै जिल्लामा गरी अहिलेसम्म ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा कोरोना संक्रमणका कारण ६ जनाको निधन भएको छ।

माघ ९ गते पहिलो पटक चीनबाट आएका एक जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। त्यसको दुई महिनापछि चैत १० गते फ्रान्सबाट आएकी एक महिलामा कोरोनाको दोस्रो केस भेटिएपछि सरकारले देशभर लकडाउन गरेको थियो।

लकडाउनका समयमा अन्य जिल्लाको तुलनामा उपत्यकामा कोरोना संक्रमितको संख्या निकै कम थियो। तर, लकडाउन खुलेसँगै विभिन्न नाकाबाट उपत्यका भित्रिनेको संख्या बढेको र सरकारले रोकथाममा प्रभावकारी कमद चाल्न नसकेका कारण संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गएको छ।

साउन ७ गते लकडाउन खुलेकै दिन उपत्यकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै, ८ गते ९ जना, ९ गते १० जना, १० गते ३ जना, ११ गते ८ जना र १२ गते ६ जनामा कोरोना संक्रमण देखिएको थियो। साउन १३ गतेपछि भने उपत्यकामा कोरोना संक्रमितको संख्यामा ह्वातै वृद्धि भएको छ।

साउन १३ गते मात्रै उपत्यकामा ५३ जना संक्रमित भेटिएका थिए। त्यसैगरी, साउन १४ गते १५ जना, १५ गते ४८ जना, १६ गते ३८ जना, १७ गते ६ जना, १८ गते ३१ जना, १९ गते ५१ जना, २० गते ६२ जना, २१ गते ६२ र २२ गते ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म मुलुकभर २१ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये संक्रमितमध्ये अहिलेसम्म १५ हजार ३८९ जना कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। 

संक्रमितमध्ये नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ।