कांग्रेस महामन्त्री कोइरालाको घोषणाः ‘जनमत संग्रहमा हिन्दू धर्मले नै जित्छ’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले धर्मका बिषयमा जनमत संग्रह हुनुपर्ने बताएका छन् । आफू धार्मिक स्वतन्त्रताका पक्षमा रहेको बताउँदै कोइरालाले धर्म चुन्ने अधिकार व्यक्तिको स्वतन्त्रताभित्रको बिषय भएको पनि स्पष्ट पारेका छन् ।

महामन्त्री कोइरालाले धर्मका बिषयमा जनमत संग्रह हुँदा ‘धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रता र हिन्दू धर्म’ मध्ये एक छनोट गर्ने प्रावधान राखेर मतदान हुनुपर्ने बताएका छन् । सोमबार राति कान्तिपुर टेलिभिजनको टक शो ‘फायरसाईड’ मा कुरा गर्दै महामन्त्री कोइरालाले जनमत संग्रहमा हिन्दू धर्मकै जीत हुने प्रवल सम्भावना रहेको समेत ठोकुवा गर्न पछि परेनन् ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेको पनि कोइरालाले खुलाए । ‘शेरबहादुरजीलाई धेरै मौका दिईयो, उहाँलाई मैले सहयोग पनि गरेकै हो तर यतिका अवसर पाउँदा पनि केही पनि गर्न सक्नुभएन बरु पार्टीलाई झन् कमजोर पो बनाउँदै लैजानुभयो’ कोइरालाले भने–‘ मलाई राजनीतिक वाध्यता पनि छ कि वीपीले स्थापना गर्नुभएको पार्टीलाई उहाँकै दर्शन अनुसारको स्थानमा फर्काउनु परेको छ । त्यसकारण पनि म सभापति हुनुपर्ने वाध्यता र आवश्यकता दुबै छ । तर म आफ्ना नेताहरु, साथीभाई र स्थानीय नेता कार्यकर्तासँग सरसल्लाह गरेर मात्रै अघि बढ्छु ।’

वीपीका कान्छा सुपुत्र कोइरालाले हिन्दू धर्मका पक्षमा घुमाउरो शैलीमा आफूलाई उभ्याएर नेपालको बहुसंख्यक जनमत आकर्षित गरेको चर्चा चलिरहेको छ । कांग्रेसले धर्मका बिषयमा आफूलाई स्पष्ट पार्न नसकेकैले गत निर्वाचनमा पराजय भोग्नुपरेको भनी टिकाटिप्पणी पनि हुने गरेको छ ।

 सभापति शेरबहादुर देउवाले संगठनमा एकछत्त हालीमुहाली गरिरहेको आरोप लागिरहेका बेला आएको महामन्त्री कोइरालाको नयाँ धारणाले कांग्रेस बृत्तमा मात्र होइन देशको समग्र राजनीतिमै नयाँ तरंग उत्पन्न गरिदिएको विश्लेषण गर्न थालिएको छ । 

कांग्रेसको गत महासमिति बैठकमा डँडेलधुराका जिल्ला सभापति कर्ण मल्लको अगुवाईमा हिन्दू धर्मका पक्षमा गरिएको हस्ताक्षर अभियानमा ६२ जिल्लाका सभापति सहित बहुसंख्यक महासमिति सदस्यहरुले समर्थनमा हस्ताक्षर गरेका थिए । त्यो हस्ताक्षरित दस्तावेजलाई आगामी महाधिवेशनमा छलफलको एजेन्डा बनाउने तयारी समेत भैरहेको बुझिएको छ ।