कार्यदलको प्रतिवेदन पछि मात्र मन्त्रिपरिषद् हेरफेर हुने

काठमाडौं, भदौ १ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  विवाद समाधानका लागि गठित कार्यदलले मन्त्रिपरिषद् हेरफेरका लागि सुझाव पेश गरेको अवस्थामात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिवर्तन गर्ने भएका छन्।

सोमबार बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले त्यसको जनाउ दिएका छन्। कार्यदललाई अनुमोदन गर्न बसेको नेकपा सचिवालयको बैठकमा पार्टीका सम्पूर्ण विवाद समाधानको प्रस्ताव कार्यदलले ल्याउने भएकाले संघीय सरकार तथा प्रदेश सरकारमा मन्त्री हेरफेरको विषयमा पछि नै निर्णय हुने जनाउ प्रधानमन्त्री ओलीले ‍गरेको सचिवालय सदस्य झलनाथ खनालले बताए।

‘आजको बैठकमा कार्यदलको मात्रै अनुमोदन भयो। मन्त्रिपरिषद् हेरफेर लगायतका विषय कार्यदलको प्रतिवेदनका आधारमा गरिने प्रधानमन्त्रीको मनिस्थिति रहेको  पाइयो,’ खनालले भने।

यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टीभित्रको वैचारिक तथा नीतिगत मतभेदको अन्त्यपछि मात्रै सरकारका विषयमा छलफल हुने बताएका छन्। सचिवालयको बैठक मन्त्रिपरिषद् हेरफेरको विषयमा केन्द्रित नभएको श्रेष्ठले बताए।

‘सचिवालयमा छलफलको मुख्य केन्द्रविन्दु पार्टीको विवादित विषय समाधान गर्ने भन्नेमा थियो। सरकार’bout अहिले कुनै छलफल भएन कार्यदलको प्रतिवेदनपछि विस्तृत छलफल होला,’ श्रेष्ठले भने।

यता शनिबारदेखि बसेको नेकपा कार्यदलको बैठक विषयवस्तुमा प्रवेश गर्न सकेको छैन। कार्यादेश’bout प्रष्ट नहुँदा के-के विषयमा प्रस्ताव तयार गर्ने र छलफल कुन-कुन विषयमा गर्ने भन्ने प्रष्ट हुन नसकेको एक सदस्यले जानकारी दिए।

कार्यदलको बैठक भने शनिबारदेखि निरन्तर बसिरहेको छ। गत शुक्रबार नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलमा जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल र शंकर पोखरेल सदस्य छन्।