कोरोनाबाट काठमाडौंकी एक महिलासहित थप तीन जनाको मृत्यु, उपत्यकामा थपिए १६८ जना संक्रमित

काठमाडौं, भदौ १ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप तीन जनाको मृत्यु भएको जानकारी दिए। 

प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।  

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ। संक्रमितमध्ये १७ हजार ४९५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १०७ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १६० जना घर फर्किएका छन्।